तिब्बतमा भारी वर्षा: सिन्धुपाल्चोकमा सतर्कता अपनाउन आग्रह

तिब्बतको न्यालममा मंगलबार राति भारी वर्षको सम्भावना रहेकोले सिन्धुपाल्चोक प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौँ– छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र मंगलबार राति भारी वर्षा हुने सम्भावना रहेकाले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा हस्ताक्षरित सूचनामा भोटेकोशी र सुनकोशी नदी आसपासको क्षेत्रमा जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी, अरनिको राजमार्ग (बन्देउदेखि लिपिङसम्म) सवारीसाधन चलाउँदासमेत विशेष सतर्कता अपनाउन भनिएको छ।

सिन्धुपाल्चोक जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेकोले प्रशासनले समयमै सचेतना अपनाउन आग्रह गरेको हो। स्थानीय बासिन्दालाई नदीको बहावमा आउन सक्ने वृद्धिको निगरानी गर्न र कुनै पनि असामान्य अवस्थामा तत्काल सुरक्षित स्थानमा सर्न तयारी अवस्थामा रहन पनि प्रशासनले सूचित गरिएको छ।

यसैबीच, तिब्बतमा भएको अविरल वर्षाका कारण रसुवामा सोमबार राति आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार बाढीका कारण सात जनाको मृत्यु भएको छ भने हालसम्म ५५ जनाको उद्धार गरिएको छ। अझै १८ जना बेपत्ता छन्।