रसुवा बाढी : ६४ सवारीसाधन बगे, २० जना सम्पर्कविहीन

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले ६४ वटा सवारीसाधन बगाएको छ। प्रहरीका ३ जनासहित २० जना सम्पर्कविहीन छन्। विद्युत् आयोजनामा क्षति पुग्दा बिजुली उत्पादन रोकिएको छ।

रसुवा– गए राति रसुवामा आएको बाढीका कारण भएको क्षतिको अद्यावधिक विवरण सार्वजनिक भएको छ। रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा ठूलो भौतिक क्षति भएको छ भने विद्युत् उत्पादनमा समेत गम्भीर असर परेको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, ६ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी कुल ६४ वटा सवारीसाधन बगेका छन्।

बाढीमा परी बेपत्ता हुनेको संख्या २० पुगेको छ। तीमध्ये नेपाल प्रहरीका ३ जना, सुक्खा बन्दरगाहमा काम गर्ने ६ जना, डिब्बा चालक पाँच जना र चिनियाँ नागरिक ६ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। यस्तै, २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको टर्बाइनमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ। यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

साथै, माथिल्लो त्रिशूली ‘ए’ को ६० मेगावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। अन्य क्षतिको विवरण आउन बाँकी छ।

यसैबीच, नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित स्थानमा उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। 

“ल्हेंदे खोलाको मितेरी पुल बगाउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ। १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन्। रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ,” उनले भने।