उपल्लो मुस्ताङमा बाढी, कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

उपल्लो मुस्ताङको लोमान्थाङमा आएको बाढीले चारभन्दा बढी पुल र कल्भर्ट बगाएको छ। स्थानीय तहले कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट मंगलबार साँझ ५ बजेदेखि लेदोसहितको भीषण बाढी आएको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले दिएको जानकारीअनुसार बाढीले गाउँपालिकाभित्रका करिब चारभन्दा बढी अस्थायी पुल र कल्भर्ट बगाइसकेको छ।

अध्यक्ष गुरुङले चुमजुङ लेकबाट आइरहेको बाढीले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको भन्दै आफूहरूले बाढीको अवस्थालाई नजिकबाट नियालिरहेको बताए।

“यसले (बाढीले) ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ, यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सतर्क रहन आग्रह गरेका छौँ।”

अध्यक्ष गुरुङले उपल्लो मुस्ताङबाट भीषण बाढी आउन शुरू गरेकोबारे प्रहरी र प्रशासन सबैलाई जानकारी गराइएको बताए। यो बाढीको प्रभावले कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई थप जोखिम हुने देखिएकाले सतर्क रहन फोनमार्फत सूचना गरिएको उनको भनाइ छ। चुमजुङ नेपाल–चीन सीमावर्ती नजिक रहेको गाउँ हो।