देशको व्यापार घाटा ११ महिनामा झन्डै १४ खर्ब पुग्यो

भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ।

काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कुल व्यापार घाटा झन्डै १४ खर्ब रुपैयाँ बराबर पुगेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड रुपैयाँ बराबर पुगेको हो। कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा १.८ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.६ प्रतिशत, १५.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगन्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगन्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो।

आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कुल वस्तु निर्यात ७७.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा तीन प्रतिशतले कमी आएको थियो।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२ प्रतिशत, ३ प्रतिशत र ४.४ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, जुस, तयारी पोसाक, अलैँचीलगायतका वस्तुको निर्यात घटेको छ।