प्रधानमन्त्रीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका प्रधानमन्त्री ओलीले बाढीबाट भएको क्षति, उद्धार र राहत वितरणमा चासो व्यक्त गरेका छन्।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन्। बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयसँग छलफल पनि गरेका थिए।

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको खोजतलासको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए। प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालगायत थिए।

उक्त विपद्का कारण हालसम्म २० जना सम्पर्कविहीन रहेका छन्। तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने ६, डिब्बा चालक पाँच र चिनियाँ नागरिक ६ जना रहेका छन्।

बाढीले ड्यामसाइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएको छ। बाढीले ल्हेंदे खोलाको मितेरी पुल बगाउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ।