त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

उपकुलपतिका लागि निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिवि विज्ञान संकायका पूर्वडीन प्राडा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्यालको नाम सिफारिस भएको थियो।

फाइल तस्वीर।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले बुधबार प्राडा अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले असार २३ गते ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो।

समितिले निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिवि विज्ञान संकायका पूर्वडीन प्राडा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्याललाई सिफारिस गरेको थियो।

तत्कालीन उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीले चैत ३१ गते शिक्षाध्यक्ष केसीलाई बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।