भारतको गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

समाचार एजेन्सी पीटीआईका अनुसार यो पुल लगभग ४० वर्ष पुरानो थियो। कांग्रेस र आम आदमी पार्टीले यस घटनाको लागि गुजरात सरकारलाई जिम्मेवार ठहर्‍याएका छन्।

काठमाडाैँ– भारतको गुजरातमा एक पुल भत्किँदा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यामका अनुसार बडोदरा जिल्लामा माही नदी (महीसागर)मा बनेको पुरानो पुल बुधबार बिहान अचानक भत्किएको हो।

बडोदराका कलेक्टर अनिल धमेलियाले दुर्घटनामा नौ जनाको मृत्यु भएको र छ जना घाइतेको अस्पतालमा उपचार भइरहेको बताएका छन्। पुलको बीचको भाग भत्किएको छ। पुलको भाग भत्किँदा धेरै सवारीसाधन नदीमा खसेका छन्।

धमेलियाले भने, "बिहानै उद्धार कार्य शुरू गरिएको थियो। एनडीआरएफ र अन्य टोलीहरू घटनास्थलमा उपस्थित छन् र सकेसम्म चाँडो उद्धार कार्य पूरा गर्ने प्रयास भइरहेको छ। धेरैजसो शवहरू बाहिर निकालिएको छ। अहिलेसम्म नौ जनाको शव निकालिएको छ। छ जना घाइतेको उपचार भइरहेको छ।"

पुलबाट कति सवारीसाधन खसेका छन् भन्ने प्रश्नको जवाफमा अनिल धमेलियाले भने, “दुई वटा ट्रक, एउटा पिकअप भ्यान, एउटा इको कार र एउटा अटो रिक्सा पानीमा खसेका छन्।” घटनास्थलबाट केही तस्वीरहरू बाहिर आएका छन्, जसमा पुलको भाँचिएको रेलिङ नजिकै एउटा ट्रक झुण्डिएको देखिन्छ। यसैबीच, केही सवारी साधनहरू नदीमा खसेको पनि देखिन्छ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो पुल लगभग ४० वर्ष पुरानो थियो। यो पुलले आनन्द र बडोदरा जिल्लालाई जोड्थ्यो। गुजरात सरकारका प्रवक्ता मन्त्री ऋषिकेश पटेलले सरकारले घटनाको अनुसन्धानको आदेश दिएको बताए।

ऋषिकेश पटेलले भने, "सन् १९८५ मा निर्माण भएपछि यो पुल समय-समयमा मर्मत गरिएको थियो। यो पुल मर्मत गरिएको थियो, तैपनि यो दुर्भाग्यपूर्ण र दुखद घटना भयो। मुख्यमन्त्रीले आफ्नो स्तरमा २१२ करोड रुपैयाँको लागतमा नयाँ पुल निर्माणको लागि स्वीकृति दिनुभएको थियो। यसको लागि टेन्डर र डिजाइन प्रक्रिया चलिरहेको थियो।"

प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्किँदा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ह् मा पोस्ट गर्दै भने, "गुजरातको बडोदरा जिल्लामा पुल भत्किने घटना धेरै दुखद छ। आफ्ना प्रियजन गुमाउनेहरूप्रति मेरो समवेदना। प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँको अनुग्रह रकम दिइनेछ। घाइतेहरूलाई ५० हजार रुपैयाँ दिइनेछ।"

गुजरातका विपक्षी दलहरू कांग्रेस र आम आदमी पार्टीले यस घटनाको लागि गुजरात सरकारलाई जिम्मेवार ठहर्‍याएका छन्। कांग्रेसले सामाजिक सञ्जाल एक्समा लेख्दै यस घटनालाई गुजरात मोडलको नाममा भएको भ्रष्टाचारको परिणाम बताएको छ। यस्तै, गुजरात कांग्रेसका नेता अमित चावडाले सरकारको गम्भीर लापरबाहीका कारण यो घटना भएको बताएका छन्। 

यसैबीच, आम आदमी पार्टीका नेता इसुदान गढवीले यस दुर्घटनालाई मानव निर्मित भनेका छन्। "यो घटना मानव निर्मित हो। जब जनताले कर तिर्छन्, उनीहरूले सरकारबाट बलियो प्रणालीको अपेक्षा गर्छन्," उनको भनाइ छ।