जापानमा एक किलोकै ५ लाख नेपाली रुपैयाँभन्दा बढी पर्ने आँप फलाइन्छ। ‘एग अफ सन्’ अर्थात् सूर्यको अण्डाको उपमा दिइएको यो आँपको नेपालका दुई स्थानमा गरिएको परीक्षण उत्पादन सफल भएको छ।
काठमाडौँ– पर्साको जगरनाथपुर गाउँपालिकाका किसान सहरूम राउत गद्दीले दुई बिघामा लगाएको आँप यो वर्ष रुखमै एकमुष्ट ३ लाख रुपैयाँमा बेचे। आफ्ना लागि र इष्टमित्रलाई पनि बाँड्न केही भाग राखेर बेच्दा गत वर्षको तुलनामा आम्दानी बढी भएको छ।
उनको बगैँचामा मालदह, दशहरी र दाल्मा (कलकतिया) जातका आँप छन्। “पोहोर मैले साढे २ लाख रुपैयाँको आँप बेचेको थिएँ। यो पालि त त्योभन्दा राम्रो नै भन्नुपर्यो,” उनी भन्छन्, “एकमुष्ठमा किन्नेहरू आफैले औषधि छर्किने, हेरचाह गर्ने गरे। उनीहरूले ६ लाखको आँप यहाँबाट बेचेको अनुमान छ।”
गद्दीले आँपबाट कुल आम्दानी जति गरे, जापानको एउटा आँपको प्रजातिको एक किलोको मूल्यभन्दा कम हो। किलोको नै नेपाली रुपैयाँ ५ लाखभन्दा बढी पर्ने जापानिज आँप मियाजाकी हो। ‘एग अफ सन्’ अर्थात् सूर्यको अण्डाको उपमा दिइएको यो आँप संसारकै महँगो हो।
जापानको पत्रिका टोक्यो विकेन्टरको पोर्टलअनुसार सन् २०२३ मा यो जातको दुई वटा आँप ६ लाख येन (करिब ५ लाख ६६ हजार रुपैयाँ) मा बिक्री भएका थिए। तल्लो ग्रेडको मियाजाकी आँप भने सुपरमार्केटमा प्रतिगोटा ५ हजार येन (करिब ४ हजार ७०० रुपैयाँ)मा बिक्री हुन्छ। कडा अनुशासनमा फलाइने भएकाले कम मात्र उत्पादन हुन्छ। विलक्षण स्वादकै कारण मूल्य धेरै हुने जापानी सञ्चारमाध्यमहरूमा उल्लेख छ।
जापानको भोजन संस्कृतिसम्बन्धी अध्ययन गर्ने ‘जापनिज टेस्ट’ पोर्टलका अनुसार मियाजाकी आँप जापानको क्युशुस्थित मियाजाकी प्रान्तमा खेती गरिन्छ। यो आँप चम्किलो सुनौलो रङको हुने र रसिलो गुणका कारण ‘ताइयो नो तामागो’ अर्थात्, ‘सूर्यको अण्डा’ भनेर चिनिन्छ।
“मियाजाकी आँप एक प्रिमियम फल हो, जसको माग जापानमा अत्यधिक छ र विलासिताको प्रतीक मानिन्छ। यी आँप सामान्यतः उन्नत कृषि प्रविधि र कडा गुणस्तर नियन्त्रण उपायहरू प्रयोग गरेर फलाइन्छन्,” जापनिज टेस्टमा लेखिएको छ।
अरू पनि आँपका जात छन्, जसको मूल्य आममानिसले आकलन गर्नेभन्दा महँगो र आर्थिक सामर्थ्य राम्रो हुनेले मात्र खरिद गर्नसक्ने हुन्छन्। फिलिपिन्समा हुने काराबउ आँपले विश्वको सबैभन्दा मीठो आँपको रूपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएको छ। अमेरिका, जापान र युएईका विलासी फलफूल बजारमा उच्च–ग्रेडको काराबउ आँपको मूल्य प्रतिगोटा १० देखि २० डलरसम्म (१ हजार ३६० देखि २ हजार ७०० रुपैयाँसम्म) हुनसक्ने टाइम्स आफ इण्डियाले लेखेको छ।

भारतको मध्य प्रदेशको अलिराजपुर जिल्लामा उत्पादन हुने नूरजहाँ आकारमा ठूलो र मूल्यमा महँगो आँप हो। यो आँप एउटै दुईदेखि तीन किलोको हुन्छ। यसको रङ चहकिलो पहेँलो हुन्छ। सीमित उत्पादन हुने यसको मूल्य प्रतिगोटा १ हजार ५०० भारुसम्म पर्ने भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख छ। सुगन्धका कारण पनि प्रिय मानिने यो आँप लाम्चो र सपाट हुन्छ।
यस्तै, पाकिस्तानको सिन्ध क्षेत्रमा हुने सिन्ध्री आँप दक्षिण एशियाको महँगोमध्यको अर्को हो। यसको बोक्रा चम्किलो पहेँलो हुन्छ। उच्च गुणस्तरको सिन्ध्रीको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो १५ डलर (नेपाली करिब २ हजार रुपैयाँ) सम्म छ।
पाकिस्तानकै मुल्तानलगायत क्षेत्रमा उत्पादन हुने चौँसा आँप विशिष्ट स्वाद र सुगन्धका लागि प्रसिद्ध छ। निर्यात–गुणस्तरको चौँसा मध्यपूर्वी र युरोपेली बजारमा प्रतिकिलो १२ देखि २० अमेरिकी डलरसम्म पर्छ। यो आँपका उपजातहरू चौँसा भनेर नै चिनिन्छन्, तर दशहरी वा आम्रपालीको मूल्यमा बजारमा पाइन्छन्।
फ्लोरिडा र अमेरिकाका अन्य उष्णतटीय भागहरूमा उत्पादन हुने पामर आँप पनि महँगोमा पर्छ। यी आँप बैजनी रङ र लाम्चो आकारका हुन्छन्। आकारमा ठूला, स्वाद हल्का गुलियो हुने यी आँप लामो समयसम्म टिक्छन्। यही कारण निर्यातको लागि उपयुक्त मानिन्छ। पामर आँपको मूल्य प्रतिगोटा ४ देखि १० डलरसम्म पर्छ।
अल्फोन्सो आँप भारत र विदेशमा लोकप्रियमध्ये एक हो। महाराष्ट्र, विशेषगरी रत्नागिरी, देवगड र सिन्धुदुर्गमा उत्पादन हुने सुनौलो रङको यो आँप जरातिर रातो हुन्छ। यसको गुदी केसरी रङको हुन्छ। अनलाइन माध्यममा यो आँप प्रतिकिलो १ हजार नेपाली रुपैयाँसम्म देखिन्छ। यसका पनि उपजातहरू २०० देखि ४०० रुपयाँ प्रतिकिलोमा पाइन्छ।
नेपालमा सम्भावना
बागवानी वैज्ञानिक मनीष त्रिपाठी आँपका धेरैजसो महँगा प्रजाति नेपालमा पनि उत्पादन गर्न सकिने बताउँछन्। तराइका जिल्ला, भित्री मधेश र पहाडका कतिपय ठाउँमा समेत ती आँप उत्पादन हुनसक्छ। नेपालमा आँप उत्पादन हुने प्रमुख जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धादिङ, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर हुन्।

मालदहसहित स्थानीयको जिब्रोमा स्वाद बसिसकेका आँपबाहेकको जात आउँदा नेपालमा राम्रो माग नभएको त्रिपाठीको भनाइ छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का लागि आँपको अध्ययन गरेका उनी नवलपुर र विराटनगरमा संसारकै सबभन्दा मँहगो प्रजापितको आँप मियाजाकीको परीक्षण उत्पादन सफल भएको बताउँछन्।
तर यहाँका उत्पादन व्यवसायिक रूपमा बजारमा नलगिएको त्रिपाठीको भनाइ छ। “यहाँ उत्पादन भएर अरू देशमा निर्यात गर्न सकिने सम्भावना भएका आँप अनेक हुन सक्छन्,” उनी भन्छन्।
विदेशतिर रेसा नभएका वा कम गुलियो आँपको माग बढी छ। नेपालमा उत्पादन भइरहेको दशहरी र अग्रमालीमा रेसा न्यून हुने भएकाले निर्यातको सम्भावना रहेको त्रिपाठी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
