बाढीले क्षतविक्षत रसुवागढी क्षेत्र [तस्वीरहरू]

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाउँदा आवतजावत बन्द भएको छ। स्याफ्रुवेँसीदेखी टिमुरेसम्म सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। 

तस्वीर: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– भोटेकोशी नदीमा मंगलबार बिहान एक्कासि आएको बाढीले रसुवागढी क्षेत्रमा ठूलो मानवीय तथा भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ।

बाढीमा परी नौ जनाको मृत्यु भएको छ। दुई जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनिया नागरिकसहित १९ जना बेपत्ता छन्। 

बुधबार साँझसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत ३० जनाको उद्धार भएको छ। बेपत्ताहरूको खोजी जारी छ। बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाउँदा आवतजावत बन्द भएको छ। बाढीका कारण सडक चर्किँदा स्याफ्रुवेँसीदेखी टिमुरेसम्म सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। 

सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि राखिएका २३ वटा मालवाहक कन्टेनर ट्रक, ३५ वटा विद्युतीय गाडी, ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको छ।

बाढीले रसुवागढी हाइड्रो पावरको ड्याममा क्षति भएको, त्रिशूली थ्रिडी प्रोजेक्ट बगाएको र संयुक्त सुख्खा बन्दरगाह जाँच चौकीको पनि अधिकांश भाग बगाएको छ। सरकारले अन्य थप क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।