चीनको पाँचवर्षे योजना: हरित विकास प्राथमिकतामा

चीनले ऊर्जा दक्ष प्रविधिको प्रयोग, नवीकरणीय ऊर्जामा लगानी र ऊर्जा अपव्यय न्यूनीकरण जस्ता कदमलाई प्राथमिकता दिँदै आएको छ।

तस्वीर: रोयटर्स

चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय प्रगति गर्दै गएको छ। योजनाको पहिलो चार वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ऊर्जा खपत ११.६ प्रतिशतले घटेको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) का प्रमुख झेङ शानच्येले बताए। 

उनका अनुसार, यो झन्डै एक अर्ब १० करोड टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउनु बराबर तथा युरोपेली संघले उत्सर्जन गरेको कुल कार्बनको करिब ५० प्रतिशत हो।

“चीनले देखाएको कार्य र प्रतिबद्धताले वातावरण संरक्षणमा एउटा जिम्मेवार राष्ट्रको रूपमा आफ्नो भूमिका स्पष्ट रूपमा प्रस्तुत गरेको छ,” उनले भने।

चीनले पछिल्ला वर्षमा ऊर्जा दक्ष प्रविधिको प्रयोग, नवीकरणीय ऊर्जामा लगानी र ऊर्जा अपव्यय न्यूनीकरण जस्ता कदमलाई प्राथमिकता दिँदै आएको छ। उद्योग, यातायात र निर्माण क्षेत्रमा हरित नीतिको कडाइका साथ कार्यान्वयन भइरहेको छ।

चीनले सन् २०३० भित्रमा कार्बन उत्सर्जनको उच्चतम बिन्दुमा पुग्ने र सन् २०६० सम्ममा पूर्ण कार्बन तटस्थता (शून्य उत्सर्जन) प्राप्त गर्ने लक्ष्य लिएको छ।

यसका लागि सरकारले उद्योग रूपान्तरण, हरित पूर्वाधार विकास तथा ऊर्जा स्रोतको विविधीकरण जस्ता रणनीतिक पहल अघि सारेको छ। वातावरणीय संकटका सन्दर्भमा चीनको यो कदम विश्व समुदायका लागि सकारात्मक सन्देश भएको विज्ञले बताएका छन्। (रासस/सिन्ह्वा)