गोरखाका आर्थिक रूपमा कमजोर समुदायका लागि कबुलियती वन जीविकोपार्जनको माध्यम बनेको छ।
गोरखा– कमजोर आर्थिक अवस्था भएका समुदायलाई कबुलियती वनले जीविकोपार्जनमा सहयोग पुर्याएको छ। कबुलियत वन समूहबाट यहाँको गण्डकी गाउँपालिकाका सयौँ घरधुरी लाभान्वित भएका छन्।
गण्डकी गाउँपालिका–२ बिच्छेगैराकी चन्द्रमाया चेपाङले कबुलियत वन समूहमार्फत बाख्रापालन गर्दै आएकी छन्। उनी २०६२ सालदेखि कबुलियती वन समूहमा आबद्ध भएकी हुन्। कबुलियती वन बन्नुअघि गाउँभरिका डाँडामा वनमारा थियो। वनबाट आम्दानी हुन्छ भन्ने गाउँलेलाई थाहा पनि थिएन।
त्यही बेला जिल्ला वन कार्यालयले गण्डकी गाउँपालिकालगायत जिल्लाको विभिन्न स्थानमा १३१ वटा कबुलियती वन समूह गठन गर्यो। “समूह गठन भएपछि पाल्पाको अम्रिसो खेती हेर्न गयौँ। अग्लो पहाडभरि अम्रिसो देखेपछि हामी पनि केही गर्न सक्छौँ भन्ने लाग्यो,” उनले भनिन्।
चन्द्रमायाको बिच्छेगैरा ‘क’ कबुलियती वन समूहमा ६ घरधुरी आबद्ध छन्। उनीहरू सबै जना चेपाङ समुदायका हुन्। पर्याप्त जग्गा नभएका उनीहर" हाल कबुलियत वनमार्फत बाख्रापालनमा आबद्ध छन्। साथै, मौरीपालन पनि गरिरहेका छन्।
“आफ्नो जग्गा जमिन थिएन, वन पनि खाली थियो । पहिला २–४ वटा बाख्रापाल्न मुस्किल हुन्थ्यो । अहिले हरेकको घरमा २०–२५ वटा बाख्रा छ”, उनले भनिन्, “समूहमार्फत वनमा विभिन्न उन्नत जातको डाले घाँस, भुईँ घाँस लगाएका छौँ। बाख्रा बेचेरै मज्जाले घर खर्च चल्छ अहिले ।”
केही गर्छु भन्ने समूहहरूलाई कबुलियती वन कार्यक्रमले धेरै सहयोग पुर्याएको उनीहरूको भनाइ छ। बाख्रा बेचेर मात्र सो समूहका सदस्यले वार्षिक दुई लाखभन्दा बढी आम्दानी लिने गरेका छन्।
चालु आर्थिक वर्षमा सो समूहमा टिमुर खेतीको कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमअन्तर्गत बिच्छेगैरा ‘क’ को २.१० हेक्टर क्षेत्रफलमा करिब ६०० बोट टिमुर रोपिएको चन्द्रमायाले बताइन्। “राम्रो उत्पादन गर्न सके टिमुर खेतीबाट आम्दानी गर्न सकिन्छ”, उनले भनिन्। गण्डकी गाउँपालिका–२ मा मात्र १० वटा कबुलियती वन समूह छन्।
गण्डकी गाउँपालिका–८ का नेत्र श्रेष्ठ स्थानीय कबुलियती वन समूहमार्फत अम्रिसो खेती गरिरहेका छन्। “यसअघि वनमा डाले घाँस मात्र लगाएका थियौँ। यो वर्षदेखि अम्रिसो खेती शुरू गरेका छौँ,” उनले भने, “बाख्रापालनबाट राम्रो आम्दानी भइरहेको छ। अब अम्रिसो उत्पादन गर्न सके आम्दानीको स्रोत बढ्ने थियो।”
चालु आर्थिक वर्षमा गण्डकी सब–डिभिजन वन कार्यालयले कबुलियती वन समूहहरूमा अम्रिसो खेती, टिमुर खेती र डाले घाँसको विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिकाको ४, ५ र ६ वडामा यी कार्यक्रम सञ्चालन गरेको गण्डकी सब–डिभिजन वन कार्यालयका रवि यादवले बताए। कार्यालयले विभिन्न कबुलियती वन समूहमा दुई हजार २०० बोटका दरले टिमुर, डाले घाँस र अम्रिसो लगाएको उनले जानकारी दिए।
जिल्लामा कबुलियती वनमार्फत कृषि, पशु विकास तथा भूक्षय नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए। सामुदायिक वनलाई टुक्राएर जनतालाई कबुलियती वन हस्तान्तरण गरेपछि आयआर्जनको बाटो खुलेको उनले बताए।
“आदिवासी, जनजाति, दलित तथा विपन्न घरपरिवारलाई कबुलियती वन दिइएको छ,” उनले भने, “कबुलियती वनको अवधारणले गरिबी निवारणका साथै हैसियत बिग्रिएका वनहरू हराभरा बनाउन सहयोग गरेको छ।” उनका अनुसार हाल जिल्लामा २८३ वटा कबुलियती वन समूह छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
