आगलागीमा परेर काठमाडौँमा एक महिलाको मृत्यु

काठमाडौँ महानगरपालिका-६, चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिका-६, चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, मृत्यु हुनेमा काभ्रेपलान्चोकको चौरीदेउराली–३ घर भई हाल चेमजुङ गल्लीमा बस्दै आएकी उर्मिला तामाङ हुन्।

दिउँसो तामाङको कोठामा आगलागी भएको थियो। खबर पाएलगत्तै प्रहरी टोली आगो निभाउन खटिएको थियो। तामाङ कोठामै मृत अवस्थामा फेला परेकी हुन्। आगलागीबाट कोठाका झ्याल ढोका र लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागीको कारण भने खुल्न सकेको छैन। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले दिएको जानकारीअनुसार, शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी द्रोपती भट्ट (५५) लाई बसले ठक्कर दिएको थियो।

बेलौरीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले सडक छेउमा हिँडिरहेकी भट्टलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

म्याग्दीको पहिरोमा बेपत्ता बालकको शव भेटियो
म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका अर्का एक बालकको शव आज भेटिएको छ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका सरोज विक (१३) को शव आज फेला परेको जानकारी दिए। उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयवासीको संयुक्त टोलीले विकको शव फेला पारेको हो।

प्रहरी निरीक्षक सागर पौडेलका अनुसार, उक्त पहिरोमा पुरिएर सरोजका बुवा जगेन्द्र विक (३५) को पनि यसअघि नै मृत्यु भएको थियो। घर नजिकैको पाखोमा दिउँसो घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर उनीहरू दुवैलाई पुरेको थियो।