संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना नियन्त्रणमा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा टेकस्पायर कलेजका प्राध्यापक र चार विद्यार्थीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ– संघीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। उक्त घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई पक्राउ गरी जिल्ला प्रशासनमा उपस्थित गराएको हो।‍

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन्। 

“संघीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई  जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ,” उनले भने।

यही असार २४ गते बिहान ९ः३० बजे संघीय संसद भवनको दक्षिणतर्फको छतमा एक थान ड्रोन फेला परेको र टेकस्पायर कलेजको लोकेसनबाट सो ड्रोनले उडान शुरू गरेको देखिएको प्रहरीले जनाएको छ। कानूनतः संसद् भवन वरपरको क्षेत्रलाई उडान निषेधित क्षेत्र घोषणा गरिएको छ।

कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक एवं विद्यार्थीलाई उक्त ड्रोन निर्माण गरी परीक्षण गर्न भनी असार १३ गते लिखित रूपमा सेमेस्टर कार्य दिइएको भन्ने बुझिएको प्रहरी प्रवक्ता बोहराले बताए।