राष्ट्रसंघलाई भुटानको जवाफ– लोकनाथबारे थाहा छैन!

भुटानले राष्ट्रसंघीय निकायलाई पठाएको जवाफमा आचार्यको परिवारले सन् १९९२ मा देश छाडेर गएको र नेपालमा शरणार्थी शिविरमा दर्ता भएको’बाहेक कुनै जानकारी नरहेको जनाइएको छ।

काठमाडौँ– ११ वर्षदेखि बेपत्ता भुटानी शरणार्थी लोकनाथ आचार्यबारे केही थाहा नभएको भुटानले जनाएको छ। भुटानले राष्ट्रसंघीय निकायलाई पठाएको जवाफमा आचार्यको परिवारले सन् १९९२ मा देश छाडेर गएको र नेपालमा शरणार्थी शिविरमा दर्ता भएको’बाहेक कुनै जानकारी नरहेको जनाइएको हो।

सन् २०१४ अक्टोबरदेखि बेपत्ता आचार्यको स्थितिबारे मानव अधिकार रक्षासम्बन्धी राष्ट्रसंघीय विशेष प्रतिवेदकले गत २२ अप्रिलमा भुटान र भारतलाई सम्बोधन गर्दै जवाफदेहीता जनाउन निर्देश गरेका थिए। जेनेभास्थित राष्ट्रसंघीय नियोगका लागि भुटानका स्थायी प्रतिनिधि तेन्जिन आर. वाङचुकले बिहीबार जवाफ फर्काएका हुन्। 

भुटानी मानव अधिकारवादी संस्था ह्युमन राइट्स अर्गनाइजेसन अफ भुटान (हुरोब) सम्बद्ध ५१ वर्षीय आचार्य भारतको पश्चिम बंगाल, सिलिगुढीमा कार्यक्रममा सहभागी हुन गएका थिए। त्यसपछि मालबजार (पश्चिम बंगाल) हुँदै भुटानको साम्ची लगिएको प्रारम्भिक सूचनाका आधारमा त्यहीबेला हुरोबले प्रधाननगर (सिलिगुढी) प्रहरी चौकीमा एफआइआर (प्रथम सूचना) दर्ता गराएको थियो।

“प्रारम्भिक सूचनाअनुसार आचार्यलाई रबुना जेलमा पुर्‍याइएको र स्थानीय वाङ्दी–फोद्राङ जिल्लाको अस्पतालमा उपचारमा लगिएकोबारे पनि कुनै प्रमाण फेला परेन,” वाङचुकले जवाफमा लेखेका छन्। उनले आचार्यको भुटान आगमनबारे थिम्पुस्थित गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा समेत कुनै रेकर्ड नरहेको जनाएका छन्। 

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी)ले अनुसन्धान तथा बेपत्ता पहिचानका लागि अनुरोध गर्दै नेदरल्यान्ड्सको हेगबाट राष्ट्रसंघीय निकायमा पत्र लेखेको थियो। 

“राष्ट्रसंघीय निकायलाई जवाफ फर्काएर भुटान सरकारले आफ्नो जवाफदेहिता देखाएको छ तर, सधैँझैँ झारा टार्ने शैलीमा मात्रै जवाफदेही बन्न खोजिएको छ”, जीसीआरपीपीबी अभियानका संयोजक राम कार्की भन्छन्, “कुनै प्रकारको सोध–अनुसन्धान र तथ्य पहिचानका आधारभूत प्रक्रयासमेत पूरा नगरी फर्काएको जवाफ पत्यारिलो देखिँदैन। विशेष प्रतिवेदकको फलोअप रहला नै।” 

भारतीय भूमिबाट उठाएर भुटान लगिएको प्रारम्भिक सूचना र प्रधाननगर प्रहरी चौकीमा एफआईआर दर्ता भएकको आधारमा यसमा भारतले समेत जवाफ दिनुपर्ने उनको भनाइ छ। आचार्यसहित अन्य व्यक्तिको बेपत्ता अवस्थाबारे क्रमशः अन्वेषण अघि बढ्ने कार्कीले जानकारी दिए।

झापाको दमकस्थित शरणार्थी शिविरबाट भारतको सिलिगुढी लगिएका र त्यहाँबाट साम्ची सैन्य शिविर पुर्‍याएर बेपत्ता पारिएको थियो।