एनपीएलबारे थप अनुसन्धान गर्न कार्यदलको सिफारिस

एनपीएलमाथि छानबिन गर्न गठित कार्यदलले क्यानको ‘असहयोग’का कारण निष्कर्षमा पुग्न नसकेको जनाउँदै प्रतियोगितासँग सम्बन्धित विषयमा थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)बारे परेको उजुरीका सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले क्यानको ‘पूर्ण असहयोग’का कारण निष्कर्षमा पुग्न नसकिएको जनाएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित कार्यदलले शुक्रबार खेलकुदमन्त्रीलाई बुझाएको आफ्नो प्रतिवेदनमा क्यानका पदाधिकारीले छानबिन प्रक्रियालाई प्रभावित पार्न खोजेको र आवश्यक कागजात उपलब्ध नगराएको भन्दै एनपीएलसँग सम्बन्धित विषयमा थप गहन अनुसन्धान गर्न सिफारिस गरिएको छ।

गत वर्ष सम्पन्न एनपीएलमाथि अनियमितताको प्रश्न उठेपछि जेठ ११ गते युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनमा राखेप सदस्य रञ्जना प्रधानको नेतृत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो। मन्त्री चौधरीको निर्देशनमा गठन भएको यो दोस्रो कार्यदल हो। यसअघि राखेप सदस्यसचिव टंकलाल घिसिङको निर्देशनमा सदस्य अञ्जन धमलाको नेतृत्वमा चैत १३ गते पनि कार्यदल गठन भएको थियो।

कार्यदलले छानबिनका लागि क्यानसँग पटक–पटक कागजात माग गरे पनि चित्तबुझ्दो जवाफ र प्रमाण नपाएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार, कार्यदलले पहिलो पटक पत्राचार गर्दा क्यानले ‘तथ्यपरक नभई भावनात्मक’ जवाफ दिएको थियो। त्यसपछि कार्यदलले पुनः सक्कल कागजात नै माग गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्राचार गरेको थियो। त्यसको पनि ‘केबल झारा टार्ने र सतही उत्तर’ मात्र प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

छानबिन प्रक्रिया निष्कर्षमा पुग्न नसकेपछि कार्यदलले तेस्रो पटक मिति असार २२ गते अध्यक्ष चन्दलाई पत्र लेख्दै र इमेलसमेत गरी १२ घण्टाभित्र जवाफ दिन समयसीमा तोकेको थियो। तर, उक्त समयसीमाभित्र क्यानबाट कुनै पनि जवाफ प्राप्त नभएपछि छानबिन प्रक्रिया नै अवरुद्ध भएको कार्यदलको निष्कर्ष छ।

क्यानको निरन्तर असहयोगका कारण छानबिन कार्य निर्धारित समयमा सम्पन्न हुन नसकेपछि कार्यदलले १५ दिनको म्याद थपका लागि परिषद्लाई अनुरोध गरेको थियो। म्याद थप भएपछि पनि क्यानको असहयोग जारी नै रहेको प्रतिवेदनमा उल्लेख छ।

कार्यदलले छानबिन नसकिँदासम्म एनपीएलसम्बन्धी गतिविधि अगाडि नबढाउन क्यानलाई निर्देशन दिएको थियो। तर, क्यानका पदाधिकारी तथा जिम्मेवार व्यक्तिहरूले उक्त निर्देशनको पालना गर्नुको सट्टा आमसञ्चार माध्यममा ‘झूटा, कपोकल्पित र भ्रामक’ अभिव्यक्ति दिएर छानबिनलाई प्रभावित पार्न र पूर्ण असहयोग गरेको आरोप कार्यदलले लगाएको छ।

क्यान र सम्बन्धित पदाधिकारीको असहयोगका कारण आफूहरू ठोस निष्कर्षमा पुग्न नसकिएको कार्यदलको भनाइ छ। “नेपाल क्रिकेट संघ र एनपीएल प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवार पदाधिकारीहरूको उदासीनता र असहयोगका कारण छानबिन कार्य निष्कर्षमा पुग्न नसकेको,” प्रतिवेदनमा भनिएको छ, “तसर्थ, अख्तियारमा दर्ता भएका उजुरीमा उल्लेखित विषयवस्तुमा थप गहन एवं विस्तृत ढंगबाट अनुसन्धान हुन मनासिब देखी यो प्रतिवेदन पेश गरेका छौँ।”

यो पनि – 
क्यानलाई राखेपको पत्र: ‘अख्तियारको अनुसन्धान नसकिँदासम्म एनपीएलसम्बन्धी काम रोक्नू’

नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ

एनपीएल अनियमितताको ‘हिसाब मिलाउन’ मन्त्री र राखेप सदस्यसचिवलाई विदेश भ्रमण

एनपीएलमा आएका ब्रायन लारादेखि कमेन्टेटरसम्मलाई कर छलेर विदेशमा भुक्तानी

एनपीएलको हिसाबकिताब पारदर्शी छ, ठाउँमा जवाफ दिन्छौँः पारस खड्का