रसुवा बाढी: मृतकको संख्या ११ पुग्यो, अझै १९ जना बेपत्ता

रसुवामा हिमताल विस्फोट भएर आएको बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ भने अझै १९ जना बेपत्ता छन्।

तस्वीर : एनपीएल

काठमाडौँ– गत मंगलबार रसुवाको माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर आएको बाढीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

यसअघि नौ जनाको मृत्यु भएकामा शुक्रबार त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा थप दुई शव फेला परेसँगै मृतकको संख्या बढेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

यद्यपि, एक जनाको मात्र शव सनाखत भएको र अन्य शवहरूको पहिचान हुन सकेको छैन। कतिपय शव चिन्नै नसक्ने अवस्थाका र केही मानव अंग मात्र फेला परेका छन्।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार, बाढीमा परी अझै १९ जना बेपत्ता छन्। बेपत्तामध्ये प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भई अन्त्येष्टि गरिए पनि अन्यको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन। पहिचान हुन नसकेका शवहरू महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा बेपत्ताको खोजीका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

घिमिरेका अनुसार, बाढीमा फसेका, अलपत्र परेका र सडक अवरुद्ध हुँदा रोकिएका गरी हालसम्म ८६२ जनाको उद्धार गरी सुरक्षित स्थानमा पठाइएको छ।

बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ भने २४ वटा कन्टेनर, छवटा ट्रक र ४२ वटा ईभी गाडी बगाएको प्रहरीले जानकारी दिएको छ। धुन्चेबाट टिमुरे जाने सडकमा पनि ठूलो क्षति पुगेको छ। यसका साथै, रसुवागढी हाइड्रोको ड्याम र भन्सार कार्यालयको यार्डमा समेत क्षति पुगेको छ।

जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकाल्दै रसुवामा बाढी आउनुको मुख्य कारण माथिल्लो जलाधार क्षेत्रमा रहेको हिमताल विस्फोट भएको जनाएको छ।