बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको जिप शनिबार बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ।

तस्वीर: रासस।

दरशथचन्द– बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जिप दुर्घटना भएको हो। 

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहरा रहेका छन्। राना उक्त जिपका चालक हुन्। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार जिपमा सवार अन्य ६ जना घाइते भएका छन्।

डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका हुन्। राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको छ। 

शनिबार बिहान ५ः३० बजे बैतडीको पाटन–६ स्थित खिपालीमा जिप दुर्घटना भएको हो। जिप सडकबाट करिब १०० मिटर तल भिरमा पुगेको छ।