‘एकछिन के झरी परेथ्यो, मानिस छातामुनि’ (भिडियोसहित)

‘संगीत प्रवर्द्धन भनेको गरिखाने कुरा पनि हो। मनोविनोद वा गसिप मात्रै होइन। जस्तो, मैले सारंगीका भरमा गरिखाएको छु। हामीले हाम्रो माटोमा सिकेका र सिर्जना गरेका कुराबाट गरिखान सिक्नुपर्छ।’

तस्वीर : मनीष पौडेल

काठमाडौँ— बाहिरबाट झट्ट हेर्दा लोचन रिजाल शान्त देखिन्छन्, बोलचालमा ‘कुल’ सुनिन्छन्। तर, मनभित्र भने उनी अशान्त छन्, आँधी बोकेर हिँडेका हुन्छन् सधैँ–सधैँ। त्यो आँधी र छटपटीलाई बुझ्नु छ भने, उनको स्वर वा संगीतको धुन मात्र होइन, उनका शब्दमा डुब्नुपर्छ, तिनलाई गम्नुपर्छ।

नेपाली संगीतको पछिल्लो पुस्तामा नवविधा पहिल्याएझैँ अप्ठ्यारा लाग्ने शब्द बुनेर र नयाँ लाग्ने मौलिक बाजागाजाका साथ लोचनले गायकीको जेजस्तो प्रयोग देखाएका (सुनाएका) छन्, यो आफैँमा तुजुकलाग्दो छ। प्रयोगका नाममा सोसल मिडियामा ‘भ्युज’ र ‘लाइक्स’ मात्रै पछ्याउने धर्ममा लोचन लागेका छैनन्, बरु सांगीतिक सम्पदा (एथ्नोम्युजिकोलोजी)को आफ्नो पीएचडी कर्म सकिएको भोलिपल्टै अरबाजो बाजा हुँदै गन्धर्व गायनको सोधखोजमा कास्कीको बडाहारे पुगेर अड्डा जमाइहाल्ने चिनारी लोचनसँग छ।

लोचन पूर्वी पहाड पाँचथरको मेलबोटेमा जन्मे, हुर्के। अलिक पछि राम्रो स्कुले पढाइको माहौल खोज्दै बाआमाले फिदिमबाट राँके हुँदै पुगिने रवि बजारमा लगेर बोर्डिङमा भर्ना गरिदिए। त्यसपछि रविबाट सप्तमी/पञ्चमीका पहाडे बस्ती छिचोल्दै टोड्के–कुसुन्डेको अक्कर चेपको ओरालो लागेर उनी शहर हेर्न यदाकदा दमक बजार आइपुगेका हुन्थे। पढाइसँगै अलिक ठूलो शहर विराटनगर र त्यसपछि काठमाडौँ आइपुगेका हुन्।

“मेरा विद्यार्थीकालका अनन्त स्मरणहरू टोड्के–कुसुन्डे(झापा–मोरङ–इलाम–पाँचथरको सीमावर्ती पहाड)को बाटोसँग जोडिएका छन्। एउटै यात्रामा २२ पटक तर्नुपर्ने रतुवा खोलाको घुम्तीले मलाई आफ्नै जीवनका अनेकौँ मोडको स्मरण गराइरहन्छ,” कुराकानी गर्दा पनि निकै विनयशील लाग्ने लोचन सुनाउँदै थिए ।

⁎⁎⁎

जीवनमा के गर्ने, के बन्ने भन्ने कुनै निधो थिएन। गाउँले बडाजनको प्रभावमा कतै ‘मास्टर’ बन्ने वा सरकारी जागिर खाएर सजिलो जीवनको बाटो समाउने भन्ने अन्योल छँदै थियो। तर संगीत उनको जीवनमा एक यस्तो भूत बनेर सवार भयो, जसले उनलाई कुनै पनि बाजा भेट्नासाथ बजाइहाल्ने र सुरतालको पर्वाह नगरी गाइहाल्ने अभ्यासमा अभ्यस्त बनायो।

द्वन्द्वकालमा उनी नेपालभर घुम्दै थिए। कतै रूखमा गोली लागेर परेका प्वालहरू, कतै घण्टौँसम्म सुरक्षा जाँचको लाममा उभिनुपर्दाको हविगत; यी सबैले उनलाई आफू स्वयं द्वन्द्वमा परेको छु जस्तो भान परिरन्थ्यो। 

“अर्को घटनाचैँ म सँगै घाँसदाउरा गरेर हुर्किएको एक जना मेलबोटेको साथी यज्ञनिधि द्वन्द्वमा परेर मारिएछ र, मेरै घरको बारी तल उसको शव भेटियो। उसको अन्तिम इच्छामा त्यो शव त्यहीँ गाडियो पनि,” लोचनले पृष्ठभूमि सुनाइरहेका थिए, “त्यही बेला अलिक भावनामा आएरै ‘लासैको बगैँचा, हत्यारा मरिजा’ जस्ता शब्द ‘क्वाइन’ गरेको हुँ।”

लोचनलाई के लाग्छ भने, उनी आफूले लेखेका शब्दमा उनी आफू हुन पाउँछन्। जसमा सदर वा बदर पनि आफ्नै हुन्छ। “यसलाई अहंकार भन्ने कि आत्मविश्वास? म आफ्ना शब्दमा, शब्द चयन र प्रयोगमा आफै खुशी हुन्छु,” लोचन भन्छन्, “जस्तो, सुखदुःख शीर्षकको गीत मैले आठ पन्ना लेखेको थिएँ जसबाट शब्दमा खेल्दै सारङ्गी सिक्नै पनि सजिलो भयो। ‘मलाई चहर्‍याउने होसहरू’ वा ‘सुखका बोझहरू’ लेख्दा आफ्नै भावनामा डुबेर, हराएर लेख्न पनि यही कारण सजिलो भएको हो । किनभने मेरा शब्दको मालिक म आफै हुँ।”

लोचन आफ्नो सांगीतिक उद्बोधन र सिकाइको यात्रामा कास्की, बडाहारेका मोहन गन्धर्व(हाल स्वर्गीय)लाई कहिल्यै भुल्न सक्दैनन्, जसबाट उनले अरबाजो बाजा बनाउन र बजाउन सिके।

“कास्की र भोजपुरका केही गन्धर्व विज्ञले भनेका आधारमा अरबाजो ‘भाले’ हो, सारंगी ‘पोथी’ बाजा हो। ४०० वर्षअगाडिको बाजा हो यो। टोनी हागनको एउटा फिल्ममा म्युजिक बनाउने अवसर पाउँदा अरबाजोको पुरानो रेकर्ड कतै सुनेको थिएँ। पछि युनिभर्सिटी अफ म्यासाचुसेट्समा पढ्दै गर्दा पहिलोपटक कतै अरबाजो बाजाको तस्वीर देखेको थिएँ,” उनले सम्झिए, “मैले मोहन गन्धर्व बुबालाई सन् २०११ मा भेटेँ, पोखरामा। उहाँ चन्द्र शमशेरका सवाईहरू एउटा थोत्रे अरबाजोमा सुनाएर बस्नुहुन्थ्यो। त्यो संगीत–स्वर युद्धभूमिमा बजाइएका र गाइएका धुनझैँ लागे मलाई जसको संगीतले थेराप्युटिक (उपचार) सम्भव हुँदो रहेछ। अनि म पनि अरबाजो अभियन्ता बनिहालेँ ।”

अहिले उनी संगीतकर्मी हरि गन्धर्वसँग मिलेर अरबाजो बाजा प्रवर्द्धनमा सक्रिय छन्।

भिडियो

काठमाडौँ युनिभर्सिटीमा संगीत विभागका प्रमुखसमेत रहेका लोचन नेपालमा रहेका १२५ जातीय समूह र १२३ भाषीमाझ रहेको सांगीतिक सम्पदाको सोधखोजमा लोभिएका छन्, जुन एक्लै वा एउटा विश्वविद्यालयको विभागले मात्रै केही गरेर केही भइहाल्न सम्भव छैन।

“हाम्रा हरेक चाडपर्व, जनजीवन र संस्कृतिमा छ संगीत। यसलाई आजको प्रविधि र पुस्तामा लैजाने काम गर्दै छु। सांगीतिक सम्पदालाई पुस्तान्तरण गर्नैपर्छ। व्यावसायिक तवरमा जीविकोपार्जनको उपाय बन्नैपर्छ। जस्तो, अरबाजोकै खोज भएयता यसलाई बनाउने र बिक्री गर्ने तथा प्रयोगमा ल्याउने काम शुरू भएको छ,” उनी भन्छन्।

उनलाई लाग्छ, यहाँ संगीत संकलन गरे पनि त्यसको विकास, प्रवर्द्धन गरिन्न। नेपालमा रहेका ३३ हजारभन्दा बढी विद्यालयमा सांगीतिक सम्पदाको अध्ययन अनुसन्धान थालिएकै छैन।

“लोकभाका, रैथाने संगीत, जातीय र संस्कृतिको संगीतको सम्पदाबारेमा गफ गर्छौ। तर, त्यसबारेमा आधारभूत जानकारी पनि हाम्रा विद्यार्थीलाई छैन, रहन्न। यो गर्न नसकेको, हुन नसकेको कुरा हो। संगीत प्रवर्द्धन भनेको गरिखाने कुरा पनि हो यो। मनोविनोद वा गसिप मात्रै होइन” उनी भन्छन्, “जस्तो, मैले सारंगीका भरमा गरिखाएको छु। हामी नेपालीले हाम्रो माटोमा, सिकेका र सृजना गरेका कुराबाट गरिखान सिक्नुपर्छ भनेर म लागिपरेको छु।”

लोचनले पूर्वका राई, लिम्बू, दमाईं, सन्थाल, राजवंशीदेखि उदयपुरको दनुवार समुदायका छोटेलाल मिरकसम्मको सांगीतिक सृजना र योगदानलाई सहृदय स्मरण गर्ने गरेका छन्।

“संगीत सृजना आफ्ना लागि गरेर मात्रै हुँदैन। मेरो समाज, मेरो राष्ट्रका लागि केही योगदान गर्न सक्छु कि भनेर म म्युजिक गर्छु। त्यो भनेको समाजका भित्री पाटामा लुकेका सांगीतिक सम्पदा, बाजागाजा वा स्वरलाई आविष्कार गर्नु मेरो रुचि हो। छुटेका बाजाहरूलाई खोज्न, जोड्न सक्छु कि भन्ने मलाई सधैँ लाग्छ,” उनी भन्छन्, “जातीय, सांस्कृतिक कुराहरूले कहिलेकाहीँ माहौल तरल (फ्रजाइल) बनाइरहेको हुन्छ। तरलताको यो बेलामा ‘ठोस’ केही थप्न सकिन्छ कि भन्ने हुन्छ। म यसैमा लागेको हुन्छु।”   

‘ल पनि भन्दिन, नाइँ पनि जान्दिन,
ठोसझैँ भैगए उत्तरका छालहरू...’

⁎⁎⁎

संगीतका मामलामा लोचन आफ्ना निम्ति आफै गुरु र आफ्नै विद्यार्थी भएको भन्ठान्छन्। धेरैपछि युनिभर्सिटी पुगेपछि मात्रै शास्त्रीय गायन सिकेका थिए, क्लासिकल गिटारको कर्ड मिलाउन थालेका थिए। गायनशैलीका खयाल, ध्रुपद, ठुमरी थाहा पाएका थिए।

आफै सिकारु बनेर २० भन्दा बढी बाजाको वादन र शिल्पी पहिल्याएका थिए। जस्तो— धिमे संगीतको पारख गर्नमा उनी पछिल्ला दिनमा लागिपरेका छन्।

विचार, भावना र सृजनशीलताका हरेक बातचितमा आफूलाई ‘सकारात्मक’ भनिरहे पनि लोचन उनका गीतको गहिराइमा भने निराशाजनक लाग्छन्, उनी ऐकान्तिक र उदास सुनिन्छन्।

‘मरिन्छ कि कसो’, ‘बहुलाइन्छ कि जस्तो’, ‘चट्याङ खसी थिचे जस्तो’, ‘मानिस एकदमै एक्लो छ’, ‘म रित्तोलाई के थुप्रै, के कमी’, ‘एकोहोरो तड्पिनुभन्दा मनका कुरा पोख्नु नै जाती’ आदि–आदि शब्द–संगीत सुन्ने हो भने, लोचन कदाचित सकारात्मक होलान् भन्ने लाग्दैन। 

“त्यसो भन्न मिल्दैन। म निराश, उदास छैन। बरु चेतनशील छु, वरिपरि देखेका र मेरा जीवनलाई छोएर बहने घटनामा म संवेदित हुन्छु नै। अरू जान्नेहरूले कथा/उपन्यास लेख्ने थिए होलान्, म भने सारंगी वा गितार साथमा लिएर गीत बुन्न थालिहाल्छु,” प्रतिवादी बन्दै लोचन भन्छन्, “मेरो सृजनशीलता भनेकै यही हो, म यसलाई सकारात्मक सृजना भन्ठान्छु।”

उनलाई ‘व्याख्या गर’ टाइपको पढाइ (शिक्षा) कहिल्यै मन परेन। जबकि, उनका लागि त्यही ‘नबुझ्नु’ नै ‘बुझाइ’ बन्यो, अलग अर्थमा। र, यो उनको अलग बुझाइ भनेको, जन्मजात लिएर आएको एउटा गुणलाई ‘क्यापिटलाइज’ गर्न सकेमा त्यही नै जीवनको ठूलो उपलब्धि हुने रहेछ।

जस्तो, उनी एकताका मेडिकल डाक्टर बन्न विज्ञान विषय लिएर पढिरहेका विद्यार्थी थिए। पछि भित्री देह (प्यासन)ले उनलाई सारंगी, गिटार, अरबाजो र सहनाईमा लगेर जोडिदियो। अनि उनी सांगीतिक सम्पदाका ‘डाक्टर’ बने, मेडिकल त कता कहाँ छुट्यो— थाहै भएन।

अहँ, तैपनि कुनै पछुतो छैन लोचनसँग। यो बाटो ठीक कि त्यो भन्ने भावको ‘द रोड नट टेकन’ (रोवर्ट फ्रस्ट) कविता उनले सुनेका छन्, पढेका छन्। बरु, तुलना भने गर्छन् गीत–संगीतमार्फत, मान्छेकै जुनीको र आफ्नै जन्म–कर्मको। कहीँकतै त पूरै ‘एब्स्ट्रयाक्ट चिन्तन : लोचन’ सुनिन्छन् उनी, पत्रभित्र पत्र। अनि फेरि अरबाजो–तार कस्दै सुनाउँछन्, मनोविज्ञान मिसिएको एउटा गीत—

‘परेवाहरू उडे
सीमित अन्न खाइ
भरपेट परेवा खाएर
उड्न खोज्छु म मानिस
मानिस हवाईजहाज उडाउँछ
मानिस चंगाचेट गराउँछ
मानिस खुराफाती छ
मानिस कदापि स्वतन्त्र छैन !

..

घाम लाग्दा पनि मानिस छातामुनि
एकछिन के झरी परेथ्यो,
मानिस छातामुनि
मानिस छेकिएको छ
मानिस कदापि स्वतन्त्र छैन !’