चन्द्रागिरिका वडा नं १, २ र ३ अव्यवस्थित विकास निर्माणका कारण यस वर्ष पनि पहिरोको उच्च जोखिममा छन्।
कीर्तिपुर– बर्खा लागेसँगै काठमाडौँको चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिरोको जोखिममा परेका छन्। यस वर्ष विशेषगरी चन्द्रागिरि-१, २ र ३ नम्बर वडा उच्च जोखिममा छन्, जसमा वडा नम्बर २ सबैभन्दा बढी संवेदनशील देखिएको छ। गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पनि यस वर्ष पुनः जोखिममा परेका छन्।
नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालका अनुसार, यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा समेत यसपटक पहिरो गई जनधनको क्षति हुने सम्भावना बढेको छ। गत वर्ष वडा नं २ मा पहिरोले घर पुरिनुका साथै दुई जनाको मृत्यु भएको थियो। “नगरका २०० स्थानमा पहिरो रोकथामका लागि प्लास्टिक पठाइएको छ”, अर्यालले भने।
वडा नम्बर १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी दिए। खास गरी विकास निर्माणका क्रममा डोजर लागेका स्थानमा पहिरो जाने, भू-क्षयलगायतको समस्या देखिएको उनले बताए।
आफ्नो घर पहिरोले लड्न लागेकाले बचाइदिन आग्रह गर्दै नगरपालिका आएकी वडा नम्बर २ की अम्बिका सन्जेलले विकास गर्ने भन्दै जमिनमा जथाभाबी डोजर चलाउने र वर्षा अगाडि निर्माण नगरिदिँदा पहिरो जाने गरेको बताइन्। “वडा नं ५ स्थित राधाकृष्ण टोलमा झन्डै १०० मिटर बाटोको भाग खोलामा खसेको छ,” उनले भनिन्।
नजिकै कर्बड हल बनाउँदा माटो खोस्रिएका कारण त्यहाँ पहिरो गएको स्थानीयले बताएका छन्। वडा नं ९ स्थित शान्ति स्तूपाका कारण कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरोको हालसम्म पनि व्यवस्थापन भएको छैन। जोखिम न्यूनीकरणका प्रारम्भिक काम भए पनि दीर्घकालीन समाधानका लागि बायो इन्जिनियर गर्नुपर्ने भएकाले केही समय लाग्ने अर्यालले जानकारी दिए। वडा नं ८ का केही भाग पनि पहिराको उच्च जोखिममा रहेका उनले बताए।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले यस वर्ष आकस्मिक विपद् व्यवस्थापनका लागि तीन करोड बजेटमा व्यवस्था गरिएको जानकारी दिए। दीर्घकालीन समाधानका लागि भिरालो जमिनमा वृक्षारोपण र जोखिमयुक्त स्थानमा बायो इन्जिनियरिङ गर्न खोजिएको उनले बताए। “जथाभाबी डोजर चलाउँदा पहिरोको जोखिम बढेकाले आगामी दिनमा प्राविधिक जाँचका आधारमा मात्र अनुमति दिइनेछ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
