बाढी र पहिरोले ५ राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण पाँच राजमार्ग अवरुद्ध भएका छन् भने केही स्थानमा यातायात आंशिक रूपमा मात्र सञ्चालनमा आएका छन्।

फाइल तस्वीर

काठमाडौँ– बाढी र पहिरोले देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध पारेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, शनिबार बिहानैदेखि देशका विभिन्न भागमा सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ।

प्रहरीले दिएको जानकारीअनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलघाटको सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। 

प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार पहिरोले अवरुद्ध भएका अन्य चार सडक भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

रोल्पा र गुल्मी जोड्ने सहिद राजमार्ग, कालीगण्डकी करिडोर, र खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग मा सवारी साधनहरू सञ्चालन भइरहेका छन्। यद्यपि, यी सडकमा पनि जोखिम कायमै रहेकोले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।