अमेरिकी कर नीतिका कारण नयाँ तरंग

ट्रम्पले क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत व्यापारिक साझेदारलाई पत्र पठाउँदै २० देखि ५० प्रतिशतसम्मको ट्यारिफ दर घोषणा गरेका थिए।

जर्मनीको ज्विकाउस्थित फक्सवागन कारखानामा विद्युतीय सवारी साधन। तस्वीर: न्युयोर्क टाइम्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ। युरोपेली मुलुकहरूले ट्रम्प नीतिको आलोचना गरिरहेका छन्।

अमेरिकाले अगस्ट १ देखि क्यानेडियाली सामानमा ३५ प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफ दिने क्यानडाले चेतावनी दिएको छ। 

उद्योगमन्त्री मेलानी जोलीले क्यानडाले आफ्नो ‘आर्थिक कूटनीति’लाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको सुनाइन्। क्यानडाले आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्ने र अमेरिकामाथि दबाब बढाउने उनको भनाइ छ।  

ट्रम्पले बिहीबार ३५ प्रतिशतको भन्सार शुल्कको घोषणा गरेका थिए। त्यस्तै युरोपेली संघ र मेक्सिकोमा ३० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। मेक्सिको पनि करको आलोचना गर्दै त्यसलाई गलत र निष्फल हुने प्रतिक्रिया दिएको छ। 

ट्रम्पले गतहप्ता क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत अन्य व्यापारिक साझेदारलाई पत्र पठाउँदै २० प्रतिशतदेखि ५० प्रतिशतसम्मको ट्यारिफ दर घोषणा गरेका थिए।(सीसीटीभीप्लस)