ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुंगा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन्।
रसुवा– चिनियाँ पक्षले ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङ खोलाको पानी खोल्न थालेको छ। ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बततर्फ जमेको पानी उपकरणका सहायताले खोल्न शुरू गरेको हो।
स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुंगा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन्।
असार २३ गते केरुङबाट सामान लिई फर्केका कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बततर्फ नै थन्किएका थिए। कन्टेनर सोही दिन राति आएको बाढीका कारण डुबानमा परेका हुन्। स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घरसमेत डुबानमा परेको सीमासुरक्षा अधिकारीहरूले जनाएका छन्।
नेपालतर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास भएका तर चालक अभावका कारण काठमाडौँ लैजान नसकिएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीको ६ वटा ठूला ट्रक र चालु अवस्थामा रहेका २४ वटा नेपाली कन्टेनर बगाएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए।
यसैगरी, क्षतिग्रस्त अवस्थामा रहेका केही सवारीसाधनलाई अहिले सुरक्षित स्थानमा सार्न लागेको उनले बताए। असार २४ गते एक्कासी आएको ल्हेन्दे खोलाको बाढीले छ जना चिनियाँ, तीन जना नेपाल प्रहरी र पाँच नेपाली कामदारलाई बगाएको रसुवागढीस्थित वरिष्ठ चिनियाँ प्राविधिक वाङले जानकारी दिए।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार एक चिनियाँ कम्पनीमा काम गर्नेसहित छ जना नेपाली सवारी चालकसमेत गरी जम्मा २० जनालाई बाढीले बगाएको छ। बाढीले रसुवागढीस्थित सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्सको टिफर एक, सिमेन्ट घोल्ने मिक्स्चर एक, स्काभेटर एक, रोलार एक र हाइलक्स जिप एकसमेत बगाएको छ।
“बाढी आएको सूचना पाउनासाथ भन्सार यार्डका मानिसको याद आयो। डिलमा बसेर उनीहरूलाई भाग भन्दै सतर्क गरायौँ,” गोसाईंकुण्ड–२ का अध्यक्ष कामी छिरिङ तामाङले भने, “त्यसपछि जोखिममा रहेका वडावासीलाई सजग रहन अनुरोध गर्यौँ, त्यै पनि अकल्पनीय बाढीका कारण ठूलो धनजनको क्षति हुनपुग्यो।”
अध्यक्ष तामाङले समग्र क्षतिको यकिन विवरण तयार गरी बाढीपीडितलाई राहत दिन तथा काम विशेषले हाल केरुङमा रहेका नेपाली दाजुभाइलाई सकुशल घर फर्काउने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गराए।
स्थानीय पुरुषोत्तम पौडेलले ‘मानसरोवर–कैलाश’ दर्शन गरी फर्केका यात्रुलाई रसुवागढीस्थित मितेरी पुल बगाएपछि तातोपानी नाका हुँदै नेपालतर्फ आउने व्यवस्था मिलाइएको बताए। यसैगरी मानसरोवर कैलाश यात्रा सम्पन्न गरी नेपालतर्फ प्रवेश गरिसकेका यात्रुलाई भने यही असार २४ र २५ गते हेलिकप्टरमार्फत गन्तव्यस्थानतर्फ पुर्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
उनका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बद्ध सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा जुटेका र अशक्त एवं असहायको सहयोगमा तैनाथ रहेका छन्।
बाढीका कारण स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मका अधिकांश सडकखण्ड ध्वस्त भएपछि पूर्ण रूपमा सडक अवरुद्ध भई त्यस क्षेत्रको जनजीवन सुनसान रहेको छ। वडाध्यक्ष तामाङका अनुसार अहिले रसुवागढी आसपासका क्षेत्रमा बाढीबाट पुगेको क्षतिको विवरण लिने काम शुरू भएको तथा स्थानीय बासिन्दा एवं कर्मचारी भयभीत अवस्थामा रहेको अवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
