मौद्रिक नीतिपछि पुँजी बजारमा सुधार, नेप्से परिसूचक २९ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक २९ अंकले बढेर २७६०.८० बिन्दुमा कायम भएको छ भने ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। विशेषगरी, बैंक र लघुवित्त कम्पनीहरूको शेयरमा लगानीकर्ताको चासो बढेको छ।

आज नेप्से परिसूचक २९ अंकले बढेर २,७६०.८० बिन्दुमा कायम भएको छ। यस दिन ३११ कम्पनीका तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर एक लाख ५ हजार ४१५ पटक खरिदबिक्री हुँदा कुल ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ समूह सर्वाधिक ३.३७ प्रतिशत र लघुवित्त समूह ३.५० प्रतिशतले बढेका छन्। यसैगरी, विकास बैंक १.४७ प्रतिशत, वित्त १.८७ प्रतिशत, होटल तथा पर्यटन ०.४८ प्रतिशत, जीवन बीमा ०.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशत र म्युचुअल फन्ड १.०८ प्रतिशतले बढेका छन्।

यद्यपि, केही समूहको उपसूचक घटेका छन्। जलविद्युत् ०.८३ प्रतिशत, लगानी ०.०८ प्रतिशत, निर्जीवन बीमा ०.३४ प्रतिशत, व्यापार ०.२६ प्रतिशत र अन्य समूह ०.२७ प्रतिशतले घटेका छन्।

आज एनआईसी एशिया बैंक र खानेपानी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने हिमालयन हाइड्रोपावरको शेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ३७ करोड १४ लाख ९९ हजार ३२ रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा भने सनराइज ब्लुचिप फन्डको २० लाख ५४ हजार ४०० कित्ता शेयर किनबेच भएको छ।