बालुवा र धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकालमा मृत्यु: राष्ट्रसंघ

ब्लूएमओको प्रतिवेदनअनुसार बालुवा र धुलोको आँधीले विश्वका १५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको छ भने हरेक वर्ष ७० लाख मानिसको श्वासप्रश्वास र मुटुसम्बन्धी रोगबाट अकाल मृत्यु हुने गरेको छ।

सन् २०२५ मे ५ मा आएको धुलोको आँधीका कारण इराकको मध्य बगदादको अल-सेनाक स्क्वायरमा ट्राफिक जाममा फसेका सवारीसाधन। तस्वीर:अहमद अल-रुबाये/एएफपी

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)को हालैको एक प्रतिवेदनअनुसार जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले विश्वभर गम्भीर स्वास्थ्य र वातावरणीय समस्या निम्त्याउँदै १५० देशका ३३ करोडभन्दा बढी मानिसलाई प्रत्यक्ष असर गरिरहेको खुलासा गरेको अल जजिराले जनाएको छ। यी आँधीका कारण हरेक वर्ष लगभग ७० लाख मानिसको श्वासप्रश्वास र हृदय रोगबाट अकाल मृत्यु हुने गरेको समेत प्रतिवेदनमा उल्लेख छ।

संयुक्त राष्ट्रसंघको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै सन् २०२५–२०३४ लाई ‘बालुवा र धुलोको आँधीसँग लड्ने संयुक्त राष्ट्रसंघको दशक’का रूपमा घोषणा गरेको छ। महासभाका अध्यक्ष फिलेमोन याङले यी आँधीलाई ‘हाम्रो समयको सबैभन्दा बेवास्ता गरिएका तर व्यापक पहुँच भएका विश्वव्यापी चुनौतीमध्ये एक’ भन्दै यिनी जलवायु परिवर्तन, भूमिको क्षरण र अस्थिर अभ्यासद्वारा उत्सर्जित रहेको बताए।

डब्लूएमओका महासचिव सेलेस्टे साउलोले यी आँधीको प्रभाव दृश्यताका समस्याभन्दा धेरै व्यापक भएको बताए। उनले यसले जनस्वास्थ्यलाई उल्लेखनीय रूपमा असर गर्ने र कृषि, यातायात, तथा सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जा स्रोतमा बाधा पुर्‍याउने उल्लेख गरे।

अल जजिराका अनुसार याङले बालुवा र धुलोको आँधीबाट उत्पन्न हावाबाट हुने कणहरू मुख्यतया श्वासप्रश्वास र हृदय रोगका कारण वार्षिक लगभग ७० लाख समयपूर्व मृत्युसँग जोडिएको बताए। यी आँधीले बालीको उत्पादन २५ प्रतिशतसम्म घटाउन सक्ने, भोकमरी बढाउन सक्ने र जबरजस्ती बसाइसराइ गर्न बाध्य पार्न सक्ने चेतावनी पनि दिइएको छ।

संयुक्त राष्ट्रसंघका लागि डब्लूएमओका प्रतिनिधि लौरा प्याटरसनले वार्षिक रूपमा दुई अर्ब टन धुलो वायुमण्डलमा छोडिने बताइन्, जुन गिजाको महान् पिरामिडको लगभग ३०० वटाको बराबर द्रव्यमान हो। यस धुलोको ८० प्रतिशतभन्दा बढी उत्तरी अफ्रिका र मध्यपूर्वको मरुभूमिबाट उत्पन्न भई हजारौँ किलोमिटर यात्रा गरेर टाढाका क्षेत्रहरूलाई असर गर्दछ।

संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा पश्चिमी एशियाका लागि आर्थिक तथा सामाजिक आयोगका प्रमुख रोला दश्तीले बालुवा र धुलोको आँधीका कारण हुने आर्थिक क्षति आश्चर्यजनक रहेको बताए। अल जजिराका अनुसार मध्यपूर्व र उत्तरी अफ्रिकामा मात्रै यी आँधीसँग जुध्न वार्षिक लागत १५० अर्ब अमेरिकी डलर (वा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २.५ प्रतिशत) हुने अनुमान गरिएको छ। इराक, कुवेत र इरानमा यस्ता आँधीले अस्पताल, विद्यालय र कार्यस्थल बन्द गर्न बाध्य तुल्याएको थियो। सहारा मरुभूमिबाट निस्कने धुलो क्यारेबियन र फ्लोरिडासम्म पुगेको पनि पत्ता लागेको छ।

नेचरमा प्रकाशित अनुसन्धानलाई उद्धृत गर्दै अल जजिराले अमेरिकामा धुलो र हावाको क्षरणबाट हुने क्षति सन् २०१७ मा १५४ अर्ब अमेरिकी डलर पुगेको उल्लेख गरेको छ, जुन सन् १९९५ को तुलनामा चार गुणा बढी हो।

डब्लूएमओ र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बढ्दो स्वास्थ्य संकटको चेतावनी दिँदै सन् २०१८ र २०२२ को बीचमा विश्व जनसंख्याको आधानजिक (करिब ३.८ अर्ब मानिस) डब्लूएचओ सुरक्षास्तरभन्दा माथिको धुलोको सघनताको सम्पर्कमा आएको बताएका छन्। जुन २००३-२००७ को २.९ अर्बको तुलनामा उल्लेखनीय वृद्धि हो। रासस/एएनआई