काठमाडौँ महानगरमा २५ अर्ब ७६ करोडको बजेट प्रस्तुत

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७औँ अधिवेशनको पहिलो बैठकमा यो बजेट पेश गरेकी हुन्।

कुल बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा पर्नेछ भने ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेछ। बजेटमा पूर्वाधार विकासलाई सर्वाधिक ५१ प्रतिशत हिस्सा छुट्याइएको छ, जबकि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत बजेट विनियोजन गरिएको छ। बाँकी रकम अन्य क्षेत्रमा खर्च गरिनेछ।

बजेट प्रस्तुतिका क्रममा उपप्रमुख डंगोलले समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेकोमा महानगरवासी तथा सरोकारवालासँग क्षमा मागेकी छन्। उनले विगतमा केही अविश्वास र आरोप-प्रत्यारोप भए पनि अहिले सबै पक्षबीच समन्वय बढ्दै गएको र एक ढिक्का भएर काम भइरहेको समेत उल्लेख गरिन्।

“विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तीतामीठा अनुभव प्रस्तुत भए, आरोप–प्रत्यारोप पनि भए। सबै कुरा मन्थन हुँदै गएको छ। समस्याको समाधान पनि हुँदै गएको छ,” उनले भनिन्, “आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौँ।”

महानगरको बजेट असार ३२ गते पारित गरिने भएको छ। बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले असार ३२ गते दिउँसो २ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी अर्को बैठक आह्वान गरेका हुन्। उक्त बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षाका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ माथि छलफल गरी पारित गरिनेछ। 

बजेट प्रस्तुत गर्नुअघि मेयर शाहले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १५ गतेभित्र ल्याउनुपर्नेमा महानगरले आन्तरिक विवादका कारण दुई साता ढिलो गरी ल्याएको हो।