रसुवामा भारी वर्षा हुने चिनियाँ पक्षको सूचना, सतर्क रहन प्रशासनको आग्रह

रसुवा प्रशासनले जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार जिल्लामा केही दिन भारी वर्षा हुने र नदीको बहाव बढ्ने सम्भावना रहेको भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

रसुवा– जिल्ला प्रशासन कार्यालय रसुवाले मनसुनजन्य विपद्को जोखिम बढेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीले जारी गरेको ‘विपद् सूचना’मा जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार आगामी केही दिनसम्म यस क्षेत्रमा भारी वर्षा हुने र त्यसका कारण नदीहरूको बहाव अझै बढ्ने सम्भावना रहेको जनाइएको छ।

“जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीको बहाव बढ्न सक्ने हुँदा विपद्को जोखिम हुनसक्ने सम्भावना रहेको भनी आवश्यक पूर्वतयारी र सावधानीका लागि सूचना प्राप्त भएको,” सूचनामा भनिएको छ।

सूचनामा गत असार २४ गते बिहान करिब ३ बजे रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति भएकोसमेत स्मरण गराइएको छ।

जिल्ला प्रशासन कार्यालयले रसुवा भई बग्ने भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला लगायतका नदी तथा खोला आसपासका क्षेत्रमा मनसुनजन्य विपद्को उच्च जोखिम रहेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले ती क्षेत्रमा बसोबास गर्ने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजना र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन अनुरोध गरेको छ।

साथै, सम्भावित विपद्का कारण जिल्लामा सञ्चालित सडक मार्गमा समेत क्षति तथा अवरोध पुग्न सक्ने भएकाले यातायातका साधन सञ्चालन गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।