चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

मौरी विकास कार्यक्रम भण्डारा पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन गर्न सफल भएको छ।

चितवन– मौरी विकास कार्यक्रम भण्डारा पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन गर्न सफल भएको छ। भण्डाराले आर्टिफिसियल इनसेमिनेसन (एआई) प्रविधिको सहयोगबाट पाँच वटा मौरीको रानु उत्पादन गर्न गरेको हो।

कार्यक्रम प्रमुख सुजन अम्गाईंका अनुसार अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाका मौरी प्रजननविज्ञको प्राविधिक सहयोगमा यो सफलता प्राप्त भएको हो। मौरीको नस्ल सुधार गर्ने उद्देश्यले यो प्रविधि प्रयोग गरिएको हो। तालिम प्राप्त युवा कृषक एलिस महर्जन र मौरीपालन विकास कार्यक्रमका प्राविधिकको सहकार्यमा रानु मौरी उत्पादन गरिएको उनले बताए।

अघिल्लो आर्थिक वर्षमा एउटा रानु मौरी उत्पादन गरिए पनि त्यसलाई बचाउन सकिएको थिएन। तर, यस पटक उत्पादन गरिएका सबै रानुलाई बचाउन सकिएको छ। कार्यालयको निरन्तरको प्रयासपछि पहिलो पटक रानु उत्पादनमा सफलता प्राप्त गरिएको उनले बताए।

यस नयाँ प्रविधिबाट उत्पादित रानु मौरीले मह उत्पादन बढाउनुका साथै रोग प्रतिरोधी क्षमता बढी हुने अपेक्षा गरिएको छ। यद्यपि, यसको जीवनचक्र र समग्र असरबारे थप अध्ययन गर्न बाँकी रहेको बताइएको छ। कृत्रिम गर्भाधानका लागि मेरीफेरा जातको मौरी प्रयोग गरिएको थियो।