चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

गएराति सम्पन्न फाइनलमा पीएसजीलाई ३–०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो।

काठमाडाैँ– इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। गएराति सम्पन्न फाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३–०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुरस्कार समारोहमा सहभागी भएका थिए। उनी मेटलाइफ स्टेडियमको मैदानमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगै उपस्थित थिए। ट्रम्पले विजेता टोलीलाई पुरस्कार तथा पदक लगाइदिए।

अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता लिएको थियो। चेल्सीको जितमा कोल पाल्मरले २ तथा ज्याओ पेड्रोले १ गोल गरे।

खेलको २२औं मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई अघि बढाएका थिए। पुन: ३०औं मिनेटमा पाल्मरले नै अर्को गोल गरे। ४३औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाए।

दोस्रो हाफको ८५औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भएको थियो। ज्याओ नेभसले मार्क कुकरेलाको कपाल तानेपछि रेफ्रीले भीएआरको सहायता लिँदै रातो कार्ड दिए। चेल्सीका कोल पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।