भारतमा आँप बोकेको लरी पल्टिँदा ९ जनाको मृत्यु, ११ घाइते

प्रहरीले ओभरलोडिङलाई दुर्घटनाको कारण बताएको छ भने चालकले विपरीत दिशाबाट आएको कारबाट जोगिन खोज्दा लरी अनियन्त्रित भएको बयान दिएका छन्।

तस्वीर : न्युजड्रम

दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको एउटा लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। प्रहरीले सोमबार यो जानकारी दिएको हो।

यो दुर्घटना आइतबार राति आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब ३८७ किलोमिटर दक्षिणपश्चिममा रहेको अन्नामया जिल्लाको पुल्लमपेटा क्षेत्रमा भएको थियो।

एक प्रहरी अधिकारीका अनुसार, करिब ४० टन आँप र २० जना कामदार लरीको माथि बसेको अवस्थामा लरीले नियन्त्रण गुमाएको थियो। लरी पल्टिएपछि आँपका टोकरी मजदुरहरूमाथि खसेका कारण केहीको ज्यान गएको र केही घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा र आपतकालीन सेवाका कर्मचारीहरूले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

प्रहरीले दुर्घटनाको कारण ओभरलोडिङ भएको प्रारम्भिक अनुमान गरेको छ। यद्यपि, दुर्घटनाबाट बाँचेका चालकले भने विपरीत दिशाबाट आइरहेको कारसँग ठोक्किनबाट बच्ने प्रयास गर्दा लरीले नियन्त्रण गुमाएको बताएका छन्।