झ्याप्लेखोलामा यसरी हुँदै पहिरो रोकथाम (तस्वीरहरू)

नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत झ्याप्लेखोलामा गत वर्ष असोज १२ गते गएको पहिरोले पुर्‍याएको क्षतिपछि अहिले सडक पुनर्निर्माण र पहिरो रोकथामको काम सँगसँगै भइरहेको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत झ्याप्लेखोलामा गत वर्ष असोज १२ गते गएको पहिरोले पुर्‍याएको क्षतिपछि अहिले सडक पुनर्निर्माण र पहिरो रोकथामको काम सँगसँगै भइरहेको छ।

चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार सगुनले संयुक्त रूपमा निर्माण गरिरहेको यस सडकको पहिलो खण्डको करिब ८० प्रतिशतभन्दा बढी कालोपत्रे भइसकेको छ। निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेका अनुसार चिनियाँ साझेदार भए पनि सबै काम नेपाली कम्पनीले नै गरिरहेको छ र एक तहको कालोपत्रे लगभग सकिएको छ।

घिमिरेले पहिरो जानुको मुख्य कारण सडकभन्दा २००/३०० मिटर माथि गरिएको जग्गा प्लटिङको अव्यवस्थित कार्य रहेको बताए। उक्त प्लटिङका कारण पहिरो गएर कल्भर्ट थुनिएपछि सडक बगाएको उनको भनाइ छ। “पहिरो हाम्रो निर्माण कार्यले गर्दा आएको होइन, यो पूर्ण रूपमा माथिको प्लटिङको अव्यवस्थित कार्यले निम्त्याएको हो,” घिमिरेले स्पष्ट पारे।

पहिरो गएपछि सडक विभागले पुनः डिजाइन र अनुमान गरी यसको रोकथामको जिम्मा सगुनलाई नै दिएको हो। घिमिरेका अनुसार हाल पहिरो रोकथामका लागि विभिन्न तहमा काम भइरहेको छ। पहिरोले बनाएको गल्छीहरूमा माटो र लेदो छेक्नका लागि ब्याम्बो क्रिब वाल (बाँसको पर्खाल) लगाइनेछ। बाँस हलुका र ढुवानीमा सहज हुने भएकाले प्रयोग गरिएको र पछि आफैँ झाँगिएर दिगो हुने घिमिरेले जानकारी दिए। हेर्नुहोस् तस्वीरहरू :