करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर रुकुम पश्चिम र नवलपरासीमा गरी दुई जनाको मृत्यु भएको छ।

काठमाडौँ– करेन्ट लागेर रुकुम पश्चिम र नवलपरासीमा गरी दुई जनाको मृत्यु भएको छ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चौरका १९ वर्षीय शिशिर चन्दको सोमबार बिहान करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। 

जाजरकोटको नलगाड नगरपालिका–४ घ्वारामा विद्युत् लाइन जडान गर्ने क्रममा चन्दलाई करेन्ट लागेको आठविसकोट ११ का वडाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिए। 

चन्दको शव पोस्टमार्टमका लागि नलगाड नगर अस्पतालमा राखिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय नलगाडमा मृतकका आफन्त र वडा अध्यक्षसहितको टोलीले छलफल गरिरहेको र सहमति भएपछि शव परीक्षण गरिने वडाध्यक्ष पुनले बताए।

त्यस्तै, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पनि करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, कावासोती–३ स्थित एक सरकारी भवन निर्माण गर्ने क्रममा बर्दियाको ठाकुरबाबा–२ घर भई हाल कावासोतीमा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारुको मृत्यु भएको हो। 

ड्रिल गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थारुको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो।