उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका रवि लामिछाने मंगलबार बिहान सचिवभन्दा अगाडि मन्त्रालय पुगेका थिए। उनले चमेना गृहमा नै खाना खाएका थिए।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गएको पुस ९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका लागि समय मागे। तर, देउवाको सचिवालयले व्यस्तताको कारण देखाउँदै लामिछानेलाई भेटका लागि समय उपलब्ध गराएन।
रास्वपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सात तथा समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ। यो पार्टी प्रतिनिधिसभाको चौँथो ठूलो दल हो। तर त्यतिबेला कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले लामिछानेलाई ‘भाउ’ नै दिएन।
प्रतिनिधिसभामा ६ सिट जितेको जनमत पार्टीका अध्यक्ष सीके राउत प्रधानमन्त्री निवास बालुवाटार, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार र एमाले अध्यक्ष केपी ओली निवास बालकोट बोलाइँदा लामिछाने ‘बिजनेस’विहीन जस्ता भए।
त्यसपछि उनी आफ्नै निर्वाचन क्षेत्र चितवन पुगेर सामुदायिक वनमा जथाभावी काटिएको काठ कब्जामा लिँदै राजनीतिभन्दा बाहिरको ‘न्युज मेकर’ बनेका थिए। लामिछाने नेतृत्वको टोलीले चितवनको जलदेवी सामुदायिक वनको काठ नियन्त्रणमा लिएका थिए।
नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिने दिन गत आइतबार भने लामिछाने एकाएक निर्णायक बने। सरकारको नेतृत्व गर्ने विषयमा बालुवाटारमा भएको वार्तामा कांग्रेस र माओवादी नेतृत्वबीच सहमति जुट्न सकेन।
त्यसपछि, एमालेले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो। यी दुई दलको मात्र बहुमत नपुग्ने अवस्थामा ओलीले लामिछानेलाई सत्ता साझेदार बनाउने उद्देश्यले बालकोट बोलाएका थिए। लामिछानेसँग ओलीले नै दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेका थिए।
ओलीको प्रस्तावमा लामिछाने सहमत भएपछि नयाँ सत्ता गठबन्धनको ढोका खुलेको थियो। बालकोटबाट निस्किएपछि एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल र लामिछाने सँगै राष्ट्रपति भवन शितल निवास पुगेका थिए। त्यही दिन दाहाल प्रधानमन्त्रीमा नियुक्त भए।
पुस ११ गते बिहान मन्त्रालय भागबण्डाका लागि संसद् भवन बानेश्वरमा सत्ता साझेदार दलको बैठक बसेको थियो। माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री दाहाल गृहमन्त्रालय आफ्नै पार्टीका नेतालाई दिने योजनामा थिए। तर, लामिछाने आफ्नो पार्टीलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय दिनुपर्ने अडानमा रहे।
त्यहीकारण ओली र दाहाल रास्वपालाई गृहमन्त्रालय नदिइ नहुने अवस्थामा पुगे। आफ्नो नाम उल्लेख गर्न नचाहने माओवादीका ती नेता भन्छन्, “उहाँको जोड गृहमन्त्रालय भए हुन्थ्यो भन्ने थियो। जर्बजस्ती र बाहिर आएजस्तो गठबन्धन नै तोड्ने धम्की र जिद्धी चाहिँ होइन।”
बानेश्वरमा मन्त्रालय भागवण्डाको टुंगो लागेपछि ४ बजे राष्ट्रपति भवनमा राखिएको सपथग्रहण समारोहमा सबै नेता सहभागी भए। लामिछानेले त्यहाँ उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सपथ लिए। त्यहाँबाट उनी कार्यभार सम्हाल्न सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए।
उनले बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धान गर्ने र न्यायका लागि अधिकतम पहल गर्ने पहिलो निर्णय गरे। यो निर्णयका लागि गृह सचिव विनोद सिंहलाई आफैँले फाइल बनाउन निर्देशन दिएका थिए। कार्यभार सम्हाल्ने क्रममा उपस्थित पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले सरकारमा पनि आफूले प्रतिपक्षको भूमिका निर्वाह गर्ने ‘विवादास्पद’ अभिव्यक्ति दिए।
त्यसपछि उनी मन्त्रिपरिषद बैठकका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगे। मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री दाहालले उनलाई सरकारको प्रवक्ताको जिम्मा दिने प्रस्ताव गरेका थिए। तर, उनले त्यसलाई अस्वीकार गरे।
पुस १२ गते लामिछाने गृहमन्त्रीको हैसियतमा ९ बजे नै मन्त्रालय आइपुगे। उनी पुग्दा गृह मन्त्रालयका सचिव र अन्य कर्मचारी आइपुगेका थिएनन्। उनले सडकमा लेन अनुशासन पालना गर्न र सर्वसाधारणले जस्तो गरी ट्राफिक संकेतअनुसार सवारी चलाउन निर्देशन दिए। भीआईपीको सवारीका क्रममा लेन मिच्ने प्रचलन अन्त्य हुनुपर्ने उनले बताए।
लामिछाने पुगेको २० मिनेटपछि गृहसचिव सिंह मन्त्रालय पुगे। सचिव र सह–सचिवको संक्षिप्त बैठकपछि उनले मन्त्रालयका हरेक शाखाको निरीक्षण गरे। शाखा निरीक्षणका क्रममा उनले पत्रकारकै शैलीमा प्रश्न सोधेका थिए। “पुरै पत्रकारकै शैलीमा मन्त्रीज्यूले प्रश्न सोध्नुभयो। शुरूमा त डर लाग्यो”, मन्त्रालयका एक कर्मचारीले भने, “उत्साह त राम्रो छ। पहिलाका मन्त्रीले पनि शुरूमा उत्साह देखाउनुहुन्थ्यो। तर पछि सबै हराउँथ्यो।”
लामिछानेले मंगलबार पूर्वकर्मचारी र पदाधिकारीहरूले नियमविपरीत लिएको सुरक्षाकर्मी फिर्ता गराउने निर्णय गरेका छन्। गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ।
लामिछानेले मंगलबार गृहमन्त्रालयकै चमेना गृहमा खाना खाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
