मधेश प्रदेशसभाबाट प्रतिपक्षी दलको बहिष्कारबीच बजेट पारित

प्रतिपक्षी दलको बहिष्कारबीच मधेश प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ।

धनुषा–  मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रतिपक्षी दलको बहिष्कारबीच पारित गरेको छ। सोमबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल अनुपस्थित रहे पनि सत्तापक्षको बहुमतले विनियोजन विधेयक पारित गरिएको हो। सभामुख रामचन्द्र मण्डलले बजेट बहुमतले पारित भएको घोषणा गरे।

प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले सांसदलाई उपलब्ध गराइएको र अर्थ मन्त्रालयले कार्यदललाई उपलब्ध गराएको ‘रेडबुक’मा २९४ पाना फरक परेको भन्दै विरोध जनाएका छन्। सरकारले आर्थिक अपराध गरेको आरोप लगाउँदै प्रतिपक्षी दलहरूले सोमबार बिहानको कार्यदल बैठक र त्यसपछिको प्रदेशसभा बैठकसमेत बहिष्कार गरेका थिए। त्यसपछि सत्ता पक्षीय दलका सदस्यको उपस्थितिमा मात्रै बैठक अगाडि बढेको थियो।

विपक्षी दलले अर्थमन्त्री सुनिल यादवको राजीनामा र त्यसपछि बन्ने अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार गर्ने अडान राखेका थिए। पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकमा पेश गरिएको र अर्थ मन्त्रालयसँग रहेको बजेट फरक परेकाले राजीनामाको माग गर्दै आफूहरूले बैठक बहिष्कार गरेको बताए।

सत्ता पक्षका केही प्रदेशसभा सदस्यले पनि बजेटमा फरक परेको भन्दै विरोध जनाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र महतोले बजेटबाट २९४ पाना गायब गरिएको भन्दै आपत्ति जनाए। नेपाली कांग्रेसका वीरेन्द्र सिंहले पनि विगतमा ५० लाखभन्दा कमको बजेट नल्याउने बाचा गरिए पनि पाँच लाखसम्मको योजना ल्याएर जनताको अगाडि मुख नदेखाउने अवस्था बनाएको टिप्पणी गरे।

यस सम्बन्धमा मुख्यमन्त्री सतिष सिंहले भने योजना प्रणालीमा प्रविष्ट गर्दा केही फरक परेको र विगतमा पनि शून्य तथा कम बजेट भएका योजना रेडबुकमा नल्याउने गरिएको बताए। यसपटक पनि त्यहीअनुसार गरिएकाले विरोध गर्न आवश्यक नभएको उनको भनाइ छ।

गत असार १ गते अर्थमन्त्री यादवले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सदनमा प्रस्तुत गरेका थिए।