पाकिस्तानमा मनसुनी विपद‍्बाट १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

पाकिस्तानमा जुनको अन्त्यदेखि शुरू भएको मनसुनका कारण देशभर ५३ जना बालबालिकासहित १११ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले जनाएको छ।

सन् २०२५ जुलाई १४ मा सिन्ध प्रान्तको हैदराबादमा भारी मनसुनी वर्षा भइरहेको बेला यात्रुहरू पानीले भरिएको सडकबाट हिँड्दै। तस्वीर: हुस्नैन अली/एएफपी

पाकिस्तानमा जुन महिनाको अन्त्यतिर शुरू भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको ज्यान लिइसकेको छ। मृत्यु हुनेमा ५३ जना बालबालिका पनि रहेको सरकारी राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

जनघनत्व बढी भएको पञ्जाब प्रान्तमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ। राष्ट्रिय मौसम विभागले देशका उत्तरी र पूर्वी क्षेत्रहरूमा अझै भारी वर्षाको चेतावनी जारी गरेको छ। उसले शहरी बाढी, पहिरो र हावाहुरीबाट संरचनागत क्षति पुग्ने सम्भावना रहेको जनाएको छ।

मनसुनले दक्षिण एशियामा वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत भाग ओगट्छ। यो वर्षा भारतमा जुनको शुरूमा र पाकिस्तानमा जुनको अन्त्यतिर शुरू भएर सेप्टेम्बरसम्म रहन्छ। वर्षा कृषकहरूको जीवन र खाद्यान्न सुरक्षाका लागि महत्त्वपूर्ण मानिन्छ। तर, यसले बाढी, पहिरो र भवन भत्काउने जस्ता विनाशकारी घटनाहरू पनि निम्त्याउँछ। विश्वव्यापी तापमान वृद्धिसँगै मनसुनको स्वरूपमा परिवर्तन हुँदै गएको छ, तर यसको प्रभाव कति छ भन्नेमा वैज्ञानिकहरू अझै अनिश्चित छन्।

पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो। सन् २०२२ मा पाकिस्तानमा आएको भयानक मनसुन बाढीले देशको करिब एक तिहाइ भाग डुबाएको थियो, जसबाट एक हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यस बाढीबाट प्रभावित केही क्षेत्रहरू अझै पनि पुनर्निर्माणको प्रक्रियामा छन्।

यस वर्ष (मे महिनामा) आएको शक्तिशाली हावाहुरी र असिनाले पनि कम्तीमा ३२ जनाको ज्यान गएको थियो।