रोशी किनारको बस्ती जोगाउन तटबन्ध (तस्वीरहरू)

रोशी खोलामा गत वर्षको असोजमा आएको बाढीले बस्तीमा क्षति पुगेको थियो। खोला किनारको बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काभ्रेपलान्चोकस्थित रोशी खोलामा आएको बाढीले तहसनहस भएको बस्ती अहिले पनि जोखिममा छ। बर्खा लागेसँगै खोला किनारका बासिन्दा त्रसित छन्। 

रोशी खोलामा गत वर्षको असोजमा आएको बाढीले बस्तीमा क्षति पुगेको थियो। खोला किनारको बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै छ। पनौती नगरपालिका-१२ मा पर्ने यो क्षेत्रमा जोखिम न्यूनीकरण गर्न वडास्तरबाट तटबन्ध निर्माण थालिएको हो।

पनौती नगरपालिका-१२ का वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार खोलाको बहाव नियन्त्रण गर्न र आसपासका बस्ती सुरक्षित गर्न खोला गहिरो बनाएर तटबन्ध बनाउने काम भइरहेको छ। डिजिटल नक्साबाट खोलाको सीमा छुट्याएर बढी जोखिमयुक्त स्थानलाई प्राथमिकता दिई काम भइरहेको उनले बताए।

तटबन्ध निर्माणका लागि १ करोड ८० लाख रुपैयाँ बजेट छुट्याइएको छ। आगामी वर्षको बजेटमा रोशी करिडोरको काम शुरू हुने र यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष केसीले बताए।