‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिनको माग

'भिजिट भिसा' र मन्त्रीको घूस प्रकरणको अडियो टेपबारे छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपा र राप्रपाका सांसदहरूले संसद्मा माग गरेका छन्।

काठमाडौँ– सांसदले ‘भिजिट भिसा’को दुरुपयोग र मन्त्रीको घूस प्रकरणको अडियो टेपबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको मंगलबारको बैठक शुरू गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई समय दिए।

नेपालीले अध्यागमन विभागबाट भएको मानव तस्करीबारे छानबिन गर्न र २०७८ माघ ११ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा नदिए समस्या समाधान नहुने बताए। उनले मन्त्रीको श्रव्य सामग्री (अडियो) सार्वजनिक भएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। 

शाही बोलिरहेकै बेला नेकपा एमालेकी सांसद सुनिता बरालले प्रधानमन्त्रीको नेतृत्वमाथि आरोप लगाएर बोलेको विषय संसद्को अभिलेखबाट हटाउन माग गरिन्। सभामुख घिमिरेले सांसदहरूले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको सदनलाई जानकारी गराएका थिए।