नेप्से परिसूचकमा ३४.४६ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

मंगलबार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा कायम भएको छ भने नौ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबार दिनमा उल्लेख्य बढेको नेप्से परिसूचक दोस्रो दिन उच्च गिरावट आए पनि तेस्रो दिन भने उच्च वृद्धि भएको छ।मंगलबार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ को विन्दुमा कायम भएको हो। यो वृद्धिसँगै कुल कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ।

यस दिन कुल ३१७ कम्पनीको नौ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ७४ हजार ५७ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ। यो अघिल्लो कारोबार दिन सोमबारको तुलनामा बढी हो। सोमबार नेप्से आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद-बिक्री भएको थियो।

मंगलबार सेन्सेटिभ इन्डेक्स ७.०४ अंकले, फ्लोट इन्डेक्स २.६० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५७ अंकले बढेका छन्।

यस दिनको कारोबारमा सबै समूहका उपसूचकहरू बढेका छन्। बैंकिङ समूह १.८१ प्रतिशतले बढ्यो भने विकास बैंक १.२२ प्रतिशत र वित्त १.७९ प्रतिशतले बढे। होटल तथा पर्यटन ०.९३ प्रतिशत, जलविद्युत् १.७१ प्रतिशत, लगानी १.०८ प्रतिशत र जीवन बीमा ०.६८ प्रतिशतले वृद्धि भयो।

त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.८८ प्रतिशत, लघुवित्त १.२८ प्रतिशत, निर्जीवन बीमा ०.७६ प्रतिशत, व्यापार ०.८५ प्रतिशत र अन्य समूह ०.५२ प्रतिशतले बढेका छन्।

यस दिनको कारोबारमा सुपरमादी हाइड्रो पावर ८.०८, राप्ती हाइड्रो एन्ड जनरल कन्सट्रक्सन ५.८६, विन्ध्यवासिनी हाइड्रो पावर ५.७१ र ओम मेघाश्री फार्मास्युटिकलको शेयर मूल्य ५.४३ प्रतिशतले बढेको छ। त्यस्तै, भगवती हाइड्रोपावर विकास कम्पनीको ४.६४ ग्लोबल आईएमई बैंकको ऋणपत्र ३.८३ र शुभम् पावरको शेयर मूल्य ३.३३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै बुटवल पावर कम्पनीको ५२ करोड ३२ लाख ६३ हजार ६३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको १२ लाख २१ हजार ६०० कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।