सपना देख्नेहरूको आक्रोश

त्यति बेलाका क्रान्तिकारी युवाहरूका लागि सिमानाको खासै मतलब थिएन, उनीहरू कम्युनिस्ट शासन शुरू गरेर विश्वलाई एउटै मुलुक बनाउन चाहन्थे।

राष्ट्रिय समावेशी आयोगबाट कृषि अनुदानको प्रभावकारिता अध्ययनका क्रममा  पुगियो—कास्कीको माद गाउँपालिका। पालिका भवन पुग्न अलिकति बाँकी रहँदा एउटा फाँट आयो। वडा नम्बर ३ मा पर्ने त्यस ठाउँलाई भैँसे भनिँदो रहेछ।

पितृप्रसाद
पालिका जाने क्रममा भर्खरै जागिर शुरू गरेका 'कलिला' कर्मचारी भेटिए, जुम्ला र डोल्पाबाट आएका। दुई दशकै नकाटेकी युवतीहरू कर्णालीबाट कास्की आएर जागिर गर्दिरहिछन्। यो देख्दा 'अहिलेको पुस्ता अल्छी छ, के गरी खालान्?' भनेर बेलाबेला आरोपित गर्ने 'ज्येष्ठ पुस्ता'को मूल्यांकन गलत भयझैँ लाग्यो। दुई दिन पालिकाका केही वडा, कृषिका कर्मचारी र समूहका सदस्यहरूसँग छलफल गरेपछि फेरि झरियो भैँसेतर्फ।

बाटोमै भेटिए झन्डै ७० आसपासका निवृत्त सरकारी शिक्षक पितृप्रसाद सापकोटा। उनको पुर्ख्यौली घर त्यति टाढा नभए पनि बाटोको किनारमै उनले अर्को घर बनाएका छन्। पहिले शिक्षकका पेसागत संगठनमा पनि आबद्ध रहेछन्। उनको शब्द चयन सुन्दा पक्कै वामपन्थी हुन्छझैँ लाग्यो। आफू शिक्षक/कार्यकर्ता रहँदा उनले आफ्ना दलका नेताहरूलाई चुनाव जिताउन धेरै प्रयास गरे, तर तिनै दलका सदस्यहरूको कर्म/दबदबाबाट उनी अहिले खुसी छैनन्।

त्यसो हुँदाहुँदै पनि उनलाई वैकल्पिक शक्तिप्रति भने उस्तो विश्वास छैन। भन्छन्, "यतिका वर्ष राजनीति गरेकाले त केही गरेनन् भने भर्खर टुप्पोबाट पलाएकाले के गर्लान्?" भारतको राजधानी नयाँ दिल्लीमा उदाएको आम आद्मीसँग नेपालका नयाँ अनुहार/शक्तिको तुलना गर्दै तिनको राजनीतिलाई केटाकेटी खेलको संज्ञा दिन्छन्।

नेपालको राजनीति भारतबाट प्रभावित हुनु स्वाभाविक मानिन्छ। छिमेकीकै प्रभाव हुने भए क्यानडा र क्युवामा पनि अमेरिकाकै जस्तो शासन हुनुपर्ने हो, तर त्यहाँ भने यहाँजस्तो छैन। क्यानडाले बेलायती शैलीको शासन अपनाएको छ भने क्युबामा कम्युनिस्ट शासन छ। शासनकै हिसाबले क्युवा र अमेरिकाबीच लामो समयदेखि दुस्मनी छ। 

नेपालमा भने भारतबाटै राजनीति र शासनको पाठ पढियो। राणा विरुद्धको आन्दोलन होस् या पञ्चायत वा राजाको प्रत्यक्ष शासन विरुद्धको आन्दोलन। यति सम्मकी नेपालमा एक दशकसम्म चलेको माओवादी आन्दोलनको पृष्ठभूमि पनि भारतबाटै शुरू भएको मानिन्छ। नेपाली कम्युनिस्ट पार्टीको स्थापनादेखि नक्सलवादी आन्दोलनको प्रभाव दुवै भारतको पश्चिम बंगालबाट शुरू भएको मानिन्छ।

सन् १९६७ मा पश्चिम बंगालको नक्सलबारीबाट अतिवादी वाम आन्दोलन शुरू भएको थियो। नक्सलाइड मुभमेन्टका नामले चिनिने त्यस आन्दोलनका नेता थिए—चारु मजुम्दार। उनलाई सहयोग गर्ने दुई कमान्डर थिए–कानु सन्याल र जंगल सन्थाल। सन्थालले आदिवासीहरू उठाएर तिनले सामन्त ठहर गरिएकाहरूको सफाया गर्थे। यसको प्रभाव नेपालमा पनि पर्‍यो। हालका प्रधानमन्त्री केपी ओलीलगायतका नेताहरू पनि तिनको सम्पर्कमा कुनै बेला पुगेका थिए।

नक्सलबारी मेची सीमाबाट मात्र १० किमी टाढा पर्छ। यसर्थ पनि क्रान्तिकारीहरूलाई नेपाल र भारत दुवै देशको भूमि प्रयोग गर्न सजिलो थियो। त्यति बेलाका क्रान्तिकारी युवाहरूका लागि सिमानाको खासै मतलब थिए, उनीहरू विश्वमा कम्युनिस्ट शासन शुरू गरेर विश्वलाई एउटै मुलुक बनाउन चाहन्थे।

भीष्म र नमुना
"एक जना प्रहरी हवलदारलाई पिटेपछि परिवारजनले मलाई भारत छिर्न सुझाव दिए। तर देश छोड्ने बेला मन भारी भयो र मेची पुलबाट फर्कें", झापा आन्दोलनमा संलग्न भई १७ वर्ष जेल बसेका ज्युँदा सहिद भनिइने भीष्म धिमालले बताए। आफू राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण सबैभन्दा लामो समय जेलमा बसेको दाबी गर्छन् उनी। तर आफू आदिवासी भएकाले उपल्ला भनिने जातका कमरेडहरूले विभेद गरी अरूहरूलाई नै लामो समय जेल बस्नेको परिचयबाट चिनाएकोमा गुनासो गर्छन्। 

'सामन्त'हरूको सफाया आन्दोलन शुरू गर्दा नक्सलाइडहरूको ठूलो सहयोग थियो भन्छन् धिमाल। लामो समय जेल बस्दा सरकारबाट उतिखेर भत्ताबापत प्राप्त १० हजार रुपैयाँ पनि फकाइफुल्याई लिएको घटना सम्झन्छन् भिस्म। "तपाईंहरूको घर नै पार्टी हो, त्यसैले व्यक्तिगत सम्पत्तिको अर्थ हुन्न, पार्टीलाई चन्दा दिनुहोस् भनियो, सोझो मान्छे खुरुक्क दिएँ", धिमाल थक्क मान्दै भन्छन्। हिजो आफ्नो पैसा हडप्नेहरू अहिले देशका धनाढ्य कमरेडहरूमा गनिएकोमा असहमति जनाउँदै उनी भन्छन्, "आफूले पाएको सबै खाने अनि मैले जोगाएको पैसा पनि पनि पार्टीको नाममा खाने? बेइमानहरू!" 

कम्युनिस्ट शासन स्थापना गरेर देश र समाजलाई सम्पन्न र सभ्य बनाउन सशस्त्र संघर्षमात्रै एक मात्र विकल्प ठान्ने भीष्मजस्ता व्यक्ति धेरै थिए नेपाली समाजमा। तर पश्चिम बंगालमा 'कम्युनिस्ट सरकार' स्थापित भयो, त्यो पनि मतदानमार्फत। सन् १९७७ मा शुरू भएको सो सरकार करिब ३४ वर्षपछि सन् २०११ मा ढल्यो। यी घटनाबारे ललितपुरको ग्वार्को बस्दै आएका भीष्म र कास्कीको भैँसे बस्दै आएका पितृप्रसादका अनुभव र स्मरण भने एकै किसिमका छन्। 

त्यसपछिका दुई चुनावमा भने नराम्रोसँग पराजित भए पश्चिम बंगालका वामपन्थी। पितृप्रसाद र भीष्म दुवै नेपालका दलहरूको स्थिति पश्चिम बंगालकैजस्तै हुने दाबी गर्छन्। राजनीतिमा फरक किसिमले संलग्न भएका, झन्डै ७० उमेर काटेका यी दुई प्रौढमा बराबर छ एउटा कुरा-दलहरूप्रतिको आक्रोश। 

तर गणतन्त्रको विकल्प राजतन्त्र हुनेमा उनीहरूको विश्वास छैन, तर पार्टीको दबदबा र  नेता कार्यकर्ताको दम्भ र अकर्मण्यताले दुवै ज्येष्ठलाई चिन्तित तुल्याएको छ। अबको चुनावमा परम्परागत दलहरूले घुँडा टेकेको हेर्ने रहर दुवैले राखेका छन्।

अहिले एमालेबाट अवहेलनामा परेका एक नेताको उदाहरण दिए भीष्मले। ती नेता कुनै बेला सरकारको गृहमन्त्री भएछन्। भीष्मका दौँतरी, झापा काण्डका सक्रिय योद्धा डिकेन्द्र राजवंशीले ती गृहमन्त्रीलाई भेटेर अनुरोध गरेछन्, "कामरेड, मेरो आम्दानीको बाटो केही छैन। जसोतसो गुजारा गरिरहेको छु। एउटा छोरो छ, उसलाई प्रहरीमा लगाइ दिए भात खान खाँचो हुने थिएन।"

भीष्मका अनुसार ती गृहमन्त्रीले रुखो जवाफ दिएछन्, "तपाईंको घरबार चलाउने ठेक्का मेरो हो र?" त्यसपछि आफ्नो जीवनको उर्वर समय त्यसै खेर गएको ठाने राजवंशीले उतिखेर एमाले केन्द्रीय कार्यालय नजिक रहेको रुखमा झुन्डिएर आत्महत्या गरेको त धेरैले थाहा पाएकै छन्। "कुनै बेलाको क्रान्तिकारी योद्धाले पार्टी कार्यालयमै आत्महत्या गर्दासमेत नेताको घैंटोमा घाम लागेन भने अब अरू विषयमा के आशा गर्नू?" भीष्मको प्रश्न छ। 

जेलमुक्त भएर झापाको बिर्तामोड बजारमा ठेलागाढामा पत्रिका बेच्थे, धिमाल। यसबीच, २०४९ सालमा भीष्मको कथा एक पत्रिकामा छापियो। उनको कथा छापिएको पत्रिका पसलेले मसला बेरेर बेचे। मसलाकी क्रेता थिइन्, दक्षिणी ललितपुरकी 'कामरेड नमुना।' उनले भीष्मको कथा आद्योपान्त पढिन्। उनी उति बेला वर्तमान प्रधानमन्त्रीपत्नी राधिकासँगै एउटै समितिमा रहेर राजनीति गर्दिरहिछन्।

उनी पनि अविवाहित रहेकाले भीष्मलाई सिधै पत्र लेखिन्, "म तपाईंसँग विवाह गर्न चाहन्छु कामरेड।" चिठ्ठीको खाममा झापा एमालेलाई सम्बोधन गर्दै यो चिठ्ठी कामरेड भीष्म धिमाललाई दिनू भन्ने उनको अनुरोध थियो। भीष्मले नमुनाको चिठ्ठी पाए। उनलाई पनि साथीको अभाव थियो। उनीहरूको विवाह भयो।

त्यसपछि शुरू भए दु:खका दिन। उनीहरूलाई हातमुख जोड्नै समस्या भयो। झन्डै मागेरै खानुपर्ने अवस्था आयो। यसबीच नमुनाले ल्यान्डलाइन टेलिफोनको बुथ राखेर दुई चार पैसा कमाउन सकिएला कि भन्नेबारे सोचिन्। निकै नाम चलेका र भीष्मसँगै जेल बसेका कमरेडका पत्नीहरूसँग सल्लाह मागिन्। गोजीमा कुस्त दाम नभएकाहरूको कुरो कसले सुन्थ्यो र? उनीहरूले नमुनालाई तितो जवाफ दिए, "तपाईंहरूका बुताले भ्याउने कुरो होइन। कामरेड नमुनालाई असह्य भयो तर के नै गर्न सक्थिन् र?"

पार्टीबाट अपहेलित उनीहरूलाई बरु कांग्रेसी नेताले सहयोग गरे। २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला गृह मन्त्रालयमार्फत दिइने ‘आसचपु’ (आर्थिक सहायता, चन्दा पुरस्कार) मार्फत १० हजारको सहयोग नमुनाले लिन सफल भइन्। 'कसैसँग मागेर खाइन्नँ' भन्ने स्वभावका भीष्मलाई पछि मात्र यसबारे थाहा भयो। किसुनजीले दिलाइदिएकै १० हजारबाट नमुनाले च्याउ खेती गरेर जग्गा किनिन् र घर जोडिन्। अहिले नमुना र भीष्म जोडी ललितपुरको ग्वार्कोको आफ्नो घरमा बस्छन्।

अहिले यी क्रान्तिकारी जोडीका छोरा विदेशमा छन्। नमुना भन्छिन्, "अब तपाईंहरू प्रौढ हुनुभयो, म खान पुग्ने पैसा दिन्छु, काम नगर्नु भन्छन्।" पार्टीमा लाग्दा आर्जित जोशलाई नमुनाले खेतीमा लगाइन्। "१७ वर्ष जेल बस्दा पूरा नभएको सपना उनले पूरा गरिदिइन्", भीष्म भन्छन्।

क्रान्ति, क्रान्तिकारी विचार र समाज रूपान्तरणका लागि आफ्नो ऊर्जा खर्च गरेका तीन भीष्म, नमुना र पितृप्रसादहरू उति ठुला संघर्ष र बलिदानी पछिको व्यवस्थाप्रति पनि उति उत्साहित छैनन्। असन्तुष्टिहरूको उत्तर कहाँ छ? कोसँग छ?