इन्टरनेट स्पिडमा जापानले बनायो नयाँ रेकर्ड

जापानले विकास गरेको १.०२ पेटाबिट प्रतिसेकेन्ड गतिको इन्टरनेटले १ सेकेन्डमा १० लाख २० हजार गिगाबिट (जीबी)को डाटा ट्रान्सफर गर्न सक्छ। यो गति नेपालको इन्टरनेटको औसत गतिभन्दा करिब १.३ करोड गुणा तीव्र हो।

प्रविधिको क्षेत्रमा तीव्र विकास भइरहेका बेला जापानले इन्टरनेटको गतिमा नयाँ विश्व रेकर्ड कायम गरेको छ। जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (एनआईसीटी)ले १९ कोर भएको विशेष प्रकारको अप्टिकल फाइबर केबलको प्रयोग गरी १.०२ पेटाबिट प्रतिसेकेन्डको गतिमा १८०८ किलोमिटर दूरीसम्म डाटा ट्रान्समिसन गर्न सफल भएको जानकारी आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

पछिल्लो समय इन्टरनेट ट्रान्समिसनका लागि अप्टिकल फाइबर केबल प्रयोग हुँदै आएको छ। अप्टिकल फाइबरको भित्री भाग, जसबाट प्रकाशको रूपमा डेटा ट्रान्सफर गरिन्छ, त्यसलाई ‘कोर’ भनिन्छ। सामान्यतया दैनिक जीवनमा प्रयोग गर्ने इन्टरनेटका लागि प्रयुक्त अप्टिकल फाइबरमा एउटा मात्र कोर हुन्छ। यो तीव्र गतिको इन्टरनेटका लागि सुमितोमो इलेक्ट्रिकले १९ वटा कोर भएको विशेष प्रकारको अप्टिकल फाइबर केबल तयार गरेको हो। डाटा ट्रान्समिसन सिस्टम भने एनआईसीटीले अन्तर्राष्ट्रिय रिसर्च टिमको सहायतामा तयार गरेको हो।

१.०२ पेटाबिट प्रतिसेकेन्डको गति कति तीव्र छ?
सामान्यतया इन्टरनेटको गति मेगाबिट प्रतिसेकेन्ड (एमबीपीएस) वा गिगाबिट प्रतिसेकेन्ड (जीबीपीएस) मा मापन गरिन्छ। इन्टरनेटको गति नाप्ने स्पिड टेस्ट ग्लोबल इन्डेक्सका अनुसार, नेपालको इन्टरनेटको औसत डाउनलोड स्पिड ७६.१४ एमबीपीएस छ भने अपलोड स्पिड ६०.५१ एमबीपीएस छ।

हजार मेगाबिट बराबर एक गिगाबिट हुन्छ भने १० लाख गिगाबिट बराबर एक पेटाबिट हुन्छ। यसको अर्थ, जापानले विकास गरेको १.०२ पेटाबिट प्रतिसेकेन्ड गतिको इन्टरनेटले एक सेकेन्डमा १० लाख २० हजार गिगाबिट (जीबी)को डाटा ट्रान्सफर गर्न सक्छ। यो गति नेपालको इन्टरनेटको औसत गतिभन्दा करिब १.३ करोड गुणा तीव्र हो।

यो तीव्र गतिको इन्टरनेटको प्रयोगले भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समा भएका सबै भिडियो एक सेकेन्डभन्दा कम समयमा डाउनलोड गर्न सकिन्छ भने इन्टरनेट आर्काइभको सबै डाटा करिब १० मिनेटमै डाउनलोड गर्न सम्भव हुन्छ।

सन् १९६० मा जम्मा ५ अक्षरको शब्द 'एलओजिआईन'लाई म्यासेजको रूपमा ट्रान्सफर गर्न खोज्दा दुई शब्द मात्र ट्रान्सफर हुनासाथ स्टेनफर्ड रिसर्च इन्स्टिच्युटको सिस्टम क्र्यास भएको दिनदेखि आजसम्म आइपुग्दा इन्टरनेटको गतिले अग्रगामी छलाङ मारेको छ।