भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

राजकुमार गुप्ताको राजीनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन्।

काठमाडौँ– ‘घुस डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भगवती न्यौपानेलाई सोही मन्त्रालयको मन्त्री नियुक्त गरेका छन्।

राष्ट्रपति भवनबाट मंगलबार जारी विज्ञप्तिअनुसार, प्रधानमन्त्री ओलीको सिफारिसमा संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम गुप्ताको राजीनामा स्वीकृत गरिएको छ। तत्पश्चात्, नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको मंगलबार राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। न्यौपाने नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य हुन्।

एमालेकै तर्फबाट मन्त्री बनेका गुप्ताले ७८ लाख रुपैयाँको घुस डिलको अडियो प्रकरणमा मुछिएपछिमंगलबार बिहान प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका थिए। उनले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु।” मन्त्री गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनको बर्खास्तगीको माग उठिरहेको थियो।