मालपोत कार्यालय भक्तपुरबाट साढे २४ लाख घुससहित तीन कर्मचारी पक्राउ

अख्तियारले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यसहित तीन जनालाई २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।

भक्तपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यसहित तीन जनालाई घुसको रकमसहित नियन्त्रणमा लिएको छ। उनीहरूलाई २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गाको मोही लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उक्त घुस रकम माग गरिएको सूचना अख्तियारलाई प्राप्त भएको थियो।

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटिएको थियो। टोलीले मंगलबार मालपोत कार्यालय भक्तपुरको परिसरबाटै आचार्यसहित भूमिसुधार शाखाका नायब सुब्बा दीपकप्रसाद अधिकारी र कार्यालय सहयोगी टीकाराम राउतलाई घुसबापतको उक्त रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए। 

उनीहरूको साथमा रहेका मोबाइल पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

त्यस्तै, अख्तियारको पोखरा कार्यालयले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेललाई सात हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरिदिने, लिखित परीक्षा उत्तीर्ण गराइदिने र ट्रायल परीक्षामा समेत पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना अख्तियारलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले मंगलबार पौडेललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। अख्तियारले उनीमाथि पनि थप अनुसन्धान भइरहेको जनाएको छ।