सरकारमा सहभागिताबारे माधव नेपाल र उपेन्द्र यादवसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन संवाद थालेका छन्।

काठमाडाैँ– प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा एकीकृत समाजवादी र जसपालाई पनि समेट्न संवाद शुरू गरेका छन्।

प्रधानमन्त्री दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच अहिले छलफल भइरहेको छ। स्रोतका अनुसार हात्तिवनस्थित दाहालका आफन्तको एक घरमा तीन नेताबीच वार्ता भइरहेको हो।  

जसपाले दाहाललाई सरकार गठनमा समर्थन गरेको छ तर, सरकारमा जाने निर्णय गरिसकेको छैन। एकीकृत समाजवादीले भने समर्थन गरेको छैन। दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउन संवाद थालेका हुन्।

जसपाले भने अहिलेसम्म संसदीय दलको नेता चयन गरेको छैन। बुधबार दलको नेता चयनका लागि निर्वाचन हुँदैछ। त्यसपछि मात्रै सरकारमा सहभागी हुने वा नहुने निर्णय लिनेछ। त्यसअघि नै प्रधानमन्त्री दाहालले छलफल गरेका हुन्।