माधव नेपाललाई सरकारमा आउन दाहालको प्रस्ताव, नेपालको जवाफ– ‘पार्टीमा छलफल गरेर निर्णय लिन्छौँ’

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्। 

हात्तीवनमा आज बिहान भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपाललाई सरकारलाई समर्थन गर्दै सहभागी हुन प्रस्ताव गरेका हुन्। 

अध्यक्ष नेपालले आज बिहान प्रधानमन्त्रीसँग आफ्नो भेटवार्ता भएको र उनले सरकारलाई सहयोग गर्न आग्रह गरेको जानकारी दिए। 

“बिहान हाम्रो बीचमा कुराकानी भयो। मैले शुरूमै तपाईंले हामीलाई बेवास्ता गरेर जानुभयो भनेर आपत्ति प्रकट गरे”, अध्यक्ष नेपालले उकालोसँग भने, “उहाँले त्यसमा केही कमी भएको हो। म त्यसमा क्षमा माग्छु भन्नुभयो।”

अध्यक्ष नेपालले प्रधानमन्त्रीले भेटघाटलाई बढाउँदै मिलेर जानुपर्ने धारणा राखेको बताए। 

दाहालले सरकारमा सहभागी हुन गरेको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीको बैठक बोलाएर छलफल गरेर निर्णय लिने जवाफ दिएका छन्। पछिल्लो गठबन्धनलाई आफ्नो पार्टीले नकारात्मक रूपमा नहरेको भन्दै अहिले पार्टीको नीति पर्ख र हेरको स्थितिमा रहेको नेपालको भनाई छ। 

“नेपाली कांग्रेसको व्यवहारबाट हामी पनि पीडित हौँ। प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनी देउवाजीले दिनुभएको बचन पूरा नगरेपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउनुस् भनेर मैले नै भनेको हो”, नेपालले भने, “कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै चाहिने व्यवहार जुन देखायो त्यसैले नयाँ समीकरण बनेको हो।”

नेकपा एमाले र समाजवादी एकै ठाउँमा आउन सक्ने अवस्था छ भन्ने प्रश्नमा नेपालले भने, “असम्भव भन्ने कुरा केही पनि हुँदैन तर त्यसका लागि समस्या के हो भनेर पहिचान गरेर अघि बढ्न सकिन्छ।”

अध्यक्ष नेपालले बालुवाटारबाट निस्किँदा प्रचण्डले नै तपाईं, म र ओली बसेर छलफल गरौँ भने पनि पछि एक्लै गएर छलफल गरेको बताए।