कांग्रेसकाे संस्थापन इतर समूह छलफलमा

कांग्रेसकाे संस्थापन इतर समूहमा सभापति शेरबहादुर देउवाको राजीनामादेखि विशेष महाधिवेशन बोलाउनुपर्ने माग उठ्न थालेकाे छ। 

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूह छलफलमा जुटेको छ।

बालुवाटारस्थित नेता शेखर कोइरालाको सम्पर्क कार्यालयमा इतर समूहको छलफल शुरू भएको हो। “पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ”, सहभागी एक नेताले भने, “अब कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन्छौँ।”

नेतृत्वकै कारण पार्टी संघ र प्रदेशमा प्रतिपक्षमा पुग्ने स्थिति आएको भन्दै गम्भीर समिक्षा गर्नुपर्ने आवाज इतर समूहको छ। इतर समूहका नेताहरूले सभापति शेरबहादुर देउवाको राजीनामादेखि विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आइरहेका छन्।

कांग्रेसले पुस २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफलले निर्णय गर्ने बताइएको छ।