आरआरमा झडप, अनेरास्ववियुका चारजना घाइते

काठमाडौँ प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीहरू बीच झडप हुँदा चारजना घाइते भएका छन्। घाइतेको काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौँ- काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको छ। 

स्ववियु निर्वाचनको विषयमा विद्यार्थी नेताहरूबीच झडप भएको हो। झडपका क्रममा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताए। 

झडपमा अध्यक्ष भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको शाहीले बताए।

घाइतेहरूको अहिले काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको छ। 

उनकाअनुसार आरआर क्याम्पस अनेरास्ववियुको अध्यक्ष मदन भण्डारीको अवस्था गम्भीर देखिएको छ। 

सभापति शाहीले खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए। उनले समातिएकाहरू आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको जानकारी दिए।