दाहाललाई भेटेपछि ओलीको प्रतिक्रिया–‘सरकारलाई बलियो बनाउने कुरा भयो’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नवगठित सरकारलाई बलियो बनाउने तथा सरकारको मूल नीत के हुने भन्ने विषयमा छलफल भएको छ।

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ। 

प्रधानमन्त्री निवास खुमलटारमा भएको भेटमा साढे २ घण्टा छलफल भएको छ। ओली प्रधानमन्त्रीसँग सरकार विस्तार, मन्त्रालय लगायतका प्रमुख पदको भागबन्डा गर्ने विषयमा छलफल गर्न खुमलटार पुगेका थिए। 

भेटवार्ता सकेर फर्किने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओली सरकारलाई बलियो बनाउने विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको बताए। 

२०७७ पुस ४ गते नेकपाभित्रको संघर्ष उत्कर्षमा पुगेका बेला ओली दाहाललाई भेट्न उनको निवास पुगेका थिए। त्यसपछि आज ओली दाहाललाई भेट्न पुगेका हुन्। 

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले सरकारलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जानकारी दिए। 

दुई नेताको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको निर्णयलाई कार्यान्वयनको तहमा लैजाने विषयमा पनि कुराकानी भएको बताए।

“भोलि फेरि बालुवाटारमा अर्को बैठक बस्नेगरी आज टुंगिएको छ। मुख्य नेताहरूबीच छलफल हुन्छ। मन्त्रालय भागबन्डा, प्रमुख पदको बाँडफाँटका विषयमा भोलि नै कुरा हुन्छ”, उनले भने, “आज सरकारको मूल नीति के हुने र त्यसलाई कसरी अगाडि बढाएर लैजाने भन्ने नै भएको छ।”