उपसभामुखसहित ५ मन्त्रालयमा रास्वपाको दाबी

रास्वपाका प्रवक्ता मुकुल ढकालले सत्तागठबन्धनको बैठकमा थप पाँच मन्त्रालयसँगै उपसभामुखमा पनि दाबी गर्ने बताए।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित पाँच मन्त्रालय दाबी गर्ने भएको छ।

रिक्त रहेको मन्त्रालय, उपराष्ट्रपति र उपसभामुखका विषयमा छलफल गर्नका लागि बुधबार बस्ने सत्तागठबन्धनको बैठकमा रास्वपाले उपसभामुखमा पनि दाबी पेस गर्ने भएको हो।

रास्वपाका प्रवक्ता मुकुल ढकालले सत्तागठबन्धनको बैठकमा थप पाँच मन्त्रालयसँगै उपसभामुखमा दाबी गर्ने बताए। “हामीलाई काम गर्ने मन्त्रालय चाहिकाले थप मन्त्रालय माग गरेका छौँ, सँगै उपसभामुखमा पनि दाबी गरेका छौँ”, प्रवक्ता ढकालले भने।

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्व सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन्। प्रधानमन्त्री दाहालले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। जसमा तीन जना उपप्रधानमन्त्री छन् भने चार जना विनाविभागीय मन्त्री छन्।