सांसदहरूले तलबसहित के–के पाउँछन् सेवा–सुविधा?

सांसदले स्वदेशभित्र भ्रमण गर्नुपरेमा दैनिक भ्रमण–भत्ताबापत २ हजार ५०० रुपैयाँ पाउँछन् भने विदेश भ्रमण गर्नुपरे प्रतिदिन २२५ डलर पाउने छन्।

काठमाडौँ– निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर एमाले–माओवादी गठबन्धनको सरकार बनेको छ। सात दल र स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन्। साथै प्रथम चरणमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट पुस २५ गतेका लागि संसद् अधिवेशन आह्वान भएको छ। राष्ट्रपतिबाट आह्वान भएसँगै पुस २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। अहिले प्रतिनिधिसभामा युवा सांसदको उपस्थिति पनि बाक्लो छ। नयाँ दल नयाँ सांसदका कारण संसद्मा कस्तो रौनकता छाउला भन्ने कौतुहलता सर्वसाधारणमा बढेको छ। नागरिकमा अर्को चासको विषय बनेको छ सांसदको सेवा–सुविधा। सांसदले के–के सेवा, सुविधा पाउँछन्? तलबबाहेक सेवा–सुविधा के पाउलान् भन्ने सबैको चासो छ।

प्रतिनिधिसभा सदस्यले मासिक पारिश्रमिकका रूपमा ६६ हजार ७० रुपैयाँ पाउँछन्। मासिक रूपमा विशेष भत्ताबापत १ हजार रुपैयाँ, सञ्चार सुविधाबापत ३ हजार रुपैयाँ र धारा–पानीका नाममा २ हजार रुपैयाँ गरी मासिक रूपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।

त्यस्तै, आवास सुविधा भनेर काठमाडौँ उपत्यकामा घर नहुने सांसदले मासिक १८ हजार रुपैयाँ पाउनेछन्। काठमाडौँ उपत्यकामा घर हुनेहरूले ९ हजार रुपैयाँ मात्र पाउँछन्। सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ संसद् सचिवालयले उपलब्ध गराउँछ।

सांसदले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ताबापत १ हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतका लागि भनी थप १ हजार रुपैयाँ पाउनेछन्। थप सुविधाका रूपमा सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्राङ्कित तृतीय श्रेणी सरहको स्वकीय सचिव नियुक्त गर्न दिनेछ।

संसद् सचिवालयले स्वकीय सचिवको सेवा–सुविधा स्वयं स्वकीयको नै खातामा हालिदिने गर्छ। सांसदले स्वदेशभित्र भ्रमण गर्नुपरेमा दैनिक भ्रमण–भत्ताबापत २ हजार ५०० रुपैयाँ पाउँछन्। त्यस्तै, विदेश भ्रमण गर्नुपरे प्रतिदिन २२५ डलर पाउने छन्।

त्यसैगरी, देशको प्रतिनिधित्व गर्दै अथवा संसद्को कामको सिलसिलामा विदेश जानुपरेमा संसद् सचिवालयको सिफारिसमा राहदानी विभागले कूटनीतिक राहदानी उपलब्ध गराउँछन्।

त्यस्तै, सांसदले उपचार खर्च पनि पाउने गरेका छन्। कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद् सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ। त्यस्तै, अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिलअनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन्।

सांसदले पेस्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ताबापतको रकम बढीमा ३ महिनासम्मको लिन सकिने व्यवस्था रहेको छ। विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधिसभा सदस्यलाई सभामुखको र राष्ट्रियसभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा १ वर्षसम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था छ।


संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलासँगको कुराकानीमा आधारित।