चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव र सी चिनफिङको शक्ति

सीपीसी राष्ट्रपति सीको शक्ति बिस्तार गर्न चाहन्छ। ६९ वर्षीय सीलाई जीवनभर शक्तिमा रहने बाटो खोलिदिने सम्भावनासमेत उत्तिकै छ।

तस्वीर: एपी

चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले राष्ट्रपति सी चिनफिङलाई नै तेस्रो कार्यकालका लागि राष्ट्रपति बनाउने सम्भावना अधिक छ। सन् १९७० मा चिनियाँ कम्युनिस्ट आन्दोलनका नेता माओ त्से तुङपछि सी नै चिनियाँ राजनीतिका शक्तिशाली नेता मानिन्छन्। सन् २०१३ मा चीनको सातौँ राष्ट्रपति बनेका सी चिनफिङ सन् २०१८ मा पुन: दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन्। उनको दोस्रो कार्यकाल २०२३ मा सकिनेछ।

चीनमा एक व्यक्ति दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने नियम सन् २०१८ मा खारेज भएसँगै सी नै तेस्रो पटक राष्ट्रपति बन्ने अर्थात् शक्तिमा रहिरहने बाटो खुलेको हो। चीनमा राष्ट्रपतिको कार्यकाल पाँचवर्षे हुन्छ। राष्ट्रपति सी नै दोहोरिए चीनमा उनको पकड थप बलियो बन्नेछ। सी जति विश्व राजनीति बुझेका र प्रभावशाली नेता चीनमा नभएको विश्वास गर्ने सीपीसीले उनलाई नै शक्तिमा राख्न चाहन्छ। यति मात्र होइन, सीपीसीले ६९ वर्षीय सीलाई जीवनभर शक्तिमा रहने बाटो खोलिदिने सम्भावना छ।

अक्टोबर १६ तारिख चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को इतिहासमै महत्त्वपूर्ण बैठक हुने दिन हो। हरेक पाँच वर्षमा यसै दिन हुने पार्टी महाधिवेशनले धेरै कुरा टुंगो लगाउनेछ। आगामी दिनमा राष्ट्रपति सीको भूमिका र पार्टीका महत्त्वपूर्ण निर्णयहरू महाधिवेशनबाट नै हुनेछन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)मा हाल प्रमुख तीनवटा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका सी पार्टी महासचिवको हैसियतले पार्टीका प्रमुख हुन्, राष्ट्रपतिको हैसियतमा सरकार प्रमुख र केन्द्रीय सैन्य आयोगको अध्यक्षको हैसियतले मुलुकको सैन्य कमाण्ड उनकै हातमा छ। सी चिनियाँ इतिहासका महत्त्वपूर्ण नेताहरूमध्ये एक हुन्।

अक्टोबर १६ को पार्टी महाधिवेशनपछि पनि उनका दुई जिम्मेवारी कायमै रहने सम्भावना छ। पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको अध्यक्ष। तर सन् २०२३ मा हुने नेशनल पिपुल्स कंग्रेसले राष्ट्रपतिको निर्णय गर्नेछ।

महाधिवेशनमा-के के हुन्छ?
बेइजिङको तियानमेन स्क्वायरको ग्रेट हल अफ पिपुल्समा हुने महाधिवेशनमा करिब २३ सय पार्टी प्रतिनिधि सहभागी हुनेछन्। करिब एक साता चल्ने महाधिवेशनमा सहभागीमध्ये २०० जना पार्टीको केन्द्रीय कमिटीका लागि छनोट हुनेछन् भने १७० जना अतिरिक्ति सदस्यसमेत छानिने छन्।

केन्द्रीय कमिटीले २५ जना पोलिटब्यूरो सदस्य निर्वाचित गर्छ भने पोलिटब्यूरो स्थायी कमिटी सदस्य नियुक्ति गर्छ। पार्टीको स्थायी कमिटीमा महासचिव सी चिनफिङसहित सात जना सदस्य छन्। ती सबै पुरूष हुन्। सीपीसीको स्थायी कमिटीमा सम्भ्रान्त वर्गका प्रतिनिधि हुन्छन्।

पार्टीका सम्पूर्ण निर्णय भने महाधिवेशनमा हुँदैनन्। प्रायः महाधिवेशन सकिएको भोलिपल्ट केन्द्रीय कमिटीको बैठक बस्ने र त्यही अधिकांश निर्णयसमेत हुन्छ।

महाधिवेशन किन महत्त्वपूर्ण छ?
सी चिनफिङले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको सबैभन्दा ठूलो सैन्य बलको नेतृत्व गर्नेछन्। राष्ट्रपति सीको तेस्रो कार्यकालमा चिनियाँ राजनीति थप अधिनायकवादतर्फ उन्मुख हुने केही विश्लेषकहरूको भनाइ छ। सीको मार्गनिर्देशनमा चीन थप अधिनायकवादतर्फ अघि बढिरहेको लण्डन विश्वविद्यालयका प्रोफेसर स्टिभ साङ बताउँछन्। उनी भन्छन्, “माओको नेतृत्वमा समेत चीनमा निरंकुश प्रणाली थियो। अहिले हामी त्यहाँ छैनौँ। तर सोही दिशातर्फ बढिरहेका छौँ।”

प्रोफेसर साङ भन्छन्, “आगामी महाधिवेशनमा पार्टी विधानमा परिवर्तन हुनसक्छन्, सी चिनफिङ पार्टीको एक मार्गदर्शकका रूपमा थप लोकप्रिय बन्नेछन्। सी चिनफिङको विचारधारा चिनियाँ समाजवादको ब्राण्ड बनिसकेको छ, जुन प्रखर राष्ट्रवादी दर्शनका रूपमा छाएको छ। त्यो विशेषगरि निजी व्यवसायका लागि निकै सन्देहपूर्ण छ। सीको नेतृत्वमा चिनियाँ अधिकारीहरूले शक्तिशाली कम्पनीहरूलाई अर्थतन्त्रका विविध क्षेत्रमा अफ्ठ्यारो पारिरहेका छन्। यदि यस्तै भए उनीहरूले सी चिनफिङलाई निरकुंश बनाउनेछन्।”

महाधिवेशनबाट चिनियाँ उच्च नेतृत्व सार्वजनिक हुनेछ, जसले थुप्रै नियम बनाउनेछ। चीनको भविष्यको सम्भावित सबै दिशालाई विश्व समुदायले सुक्ष्म निगरानी गरिरहेको छ। विशेषगरि आर्थिक, राजनीतिक, कूटनीतिक र वातावरणीय क्षेत्र उसका मुख्य चुनौती हुन्।

चीनको आर्थिक चुनौती
केही दशकयता उकालो लागिरहेको चिनियाँ अर्थतन्त्रले कोभिड-१९ मा भएको लकडाउन, मूल्यवृद्धि र सम्पत्ति संकटका कारण भने अहिले गम्भीर आर्थिक नोक्सानी बेहोरिरहेको छ। साथै, रूस-युक्रेन युद्धले निम्ताएको त्रासका कारण चीनको आत्मविश्वासमा कमी ल्याएको छ।

लोकप्रिय नेताका रूपमा र विचारधारामा बलियो स्थानमा रहेका सीकाे पालामा चिनियाँ अर्थतन्त्रले सोचेअनुरूप प्रगति नगरेको पाइएको छ। पूर्वराष्ट्रपतिहरू जियाङ जेमिन र हु जिन्ताओका पालाको तुलनामा सी चिनफिङका पालामा आर्थिक वृद्धिदर कम रहेको तथ्यांक छ।

कतिपय विश्लेषक के भन्छन् भने कम्युनिस्ट सरकारको वैधता यसले चिनियाँ कामदारहरूलाई कति राम्रो काम दिनसक्छ र कति लोभलाग्दो तलब दिनसक्छ भन्ने कुराले निर्भर गर्छ। त्यसैले आगामी पाँच वर्षमा गलत आर्थिक क्रियाकलाप भए यसले सीको राजनीतिमा गम्भीर असर पुर्‍याउने निश्चित छ। यसैका लागि पनि चिनियाँ केन्द्रीय बैंकका गभर्नर र प्रधानमन्त्रीलाई महत्त्वपूर्ण आर्थिक भूमिकाका लागि आधार तयार पार्ने कामसमेत महाधिवेशन नै गर्नेछ।