सर्तसहित सरकारमा जाने राप्रपाको निर्णय

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले न्यूनतम साझा कार्यक्रममा सहमति भएपछि मात्रै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सर्तसहित सरकारमा जाने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपाले अघि सारेका न्यूनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले राप्रपाले सर्तसहित सरकारमा जाने निर्णय गरेको बताए। उनका अनुसार न्यूनतम साझा कार्यक्रममा सहमति भएपछि मात्रै राप्रपा सरकारमा सहभागी हुने छ।

राप्रपाले राष्ट्रियता, विकास र सेवा प्रवाहसम्बन्धी राप्रपाले उठाउने विषयलाई न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने, २७ गते पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णयहरू अख्तियारको छानबिनको दायरामा आउनुपर्ने सर्त राखेको छ।

त्यस्तै, किसानलाई मलको हाहाकारबाट राहत दिन यसै आर्थिक वर्षभित्र कृषि मल कारखानाको प्रक्रिया प्रारम्भ गर्नुपर्ने, देशका सबै अस्पतालमा स्वास्थ्य बिमा लागू गर्नुपर्ने लगायतका सर्त आफ्नो पार्टीले राखेको प्रवक्ता श्रेष्ठले बताए।

"राप्रपाले राखेका सर्त न्यूनतम साझा कार्यक्रममा समावेश भएर त्यसमा सहमति भएपछि राप्रपा सरकारमा जान्छ", प्रवक्ता श्रेष्ठले भने।